पत्रकारकी पत्नी

पत्रकारकी पत्नी


■ बबिता बस्नेत

‘तिमीले मलाई जिन्दगीमा के दियौ ? अभाव, एक्लोपन, विवाह गरेर मैले के पाएँ ? बरु एउटा ठेलागाडा चलाउनेसँग विवाह गरेको भए साथ त पाउने थिएँ’… पल्लो कोठाबाट आएको आवाज कानमा गुञ्जिएपछि मैले बिस्तारै ढोका खोलेँ र बाथरुम जाने बहानाले प्यासेजमा उभिएर उनीहरूका कुरा सुनेँ ।

‘…आफूलाई के–के न हुँ भन्ठान्छ… अरूको नमस्कारले मात्र जिन्दगी चल्छ ?’, स्वास्नीमान्छे निरन्तर बोलिरहेकी थिई र प्रत्युत्तरमा केवल शून्यता थियो । घरी ठूलो स्वरले बोल्ने र घरी चुप रहने गर्दै खै उसले के–के भनी त्यसपछि मैले चासो राखिनँ ।

त्यतिबेला रातको करिव २ बजेको थियो र म एक निद्रा सुतेर ब्युँझिएकी थिएँ । वास्तवमा तल आँगनको गेट खोल्दा र लगाउँदा आएको घद्रक्क आवाजले मलाई ब्युँझाएको थियो । पछि थाहा भयो त्यही मान्छे आएको रहेछ । उसकी श्रीमतीको एकोहोरो संवाद सुनेपछि मलाई त्यो मानिसको बारेमा जिज्ञासा भयो– ऊ को हो ? के काम गर्छ ? र, सधैं किन यति राति घर फर्किन्छ ?

वर्षौंदेखि एउटै घरमा डेरामा बस्ने क्रममा उनीहरू अकस्मातै अहिले मेरा छिमेकी बनेका छन् । एउटै फ्ल्याट सेयर गरेर हामी बसेका छौँ । जम्मा चारवटा कोठाको फ्ल्याटमा दुईवटा उनीहरूले लिएका छन् र दुईवटा हामीले । बाथरुम, प्यासेज, बरण्डा सबै साझा छन् । यसअघि ती कोठामा विद्यार्थी बस्थे, सधैं पढिरहेको देख्थेँ म उनीहरूलाई । कहाँ पढ्थे, कतिमा पढ्थे त्यस विषयमा भने मैले कहिल्यै चासो राखिनँ, न त उनीहरूले नै बताए । उनीहरूले कोठा छोडेको कुरा पनि मैले त कोठा खाली भएपछि मात्रै थाहा पाएकी थिएँ ।

सरकारी जागिर भए पनि साहित्यिक गतिविधिमा संलग्न भएका कारण म काठमाडौंमा एउटा बेफुर्सदिलो जीवन बाँचिरहेकी थिएँ । त्यसैले पनि आफ्नै वरिपरि हुने कतिपय घटनाबाट टाढै रहन्थेँ । तर, त्यस रातको घटनाले भने मलाई केही दिनसम्म विचलित बनाइरह्यो । ती दुई कोठामा परिवार भएका ‘राम्रा’ मान्छे आउँदैछन छन् भनेर घरबेटीबाट सुनेकी थिएँ, त्यसबाहेक उनीहरूको बारेमा मलाई केही थाहा थिएन ।

विहान उठ्दा स्वास्नीमान्छे भान्सामा थिई, उसको लोग्ने सायद सुतिरहेको थियो । उसको मुख हेर्ने इच्छाले म धेरैबेरसम्म बरण्डामा यता–त्यता हिँडेजस्तो गरेर त्यसै टहलिएँ । केही क्षणको प्रतीक्षापछि भान्सा पुछेको रुमाल निचोर्दै ऊ बरण्डामा आई, म त्यसै आँखा जुधाउँदै मुसुक्क हाँसे, प्रत्युत्तरमा ऊ पनि मुस्कुराई । तर, अनुहारमा गहिरो असन्तुष्टि भने स्पष्ट झल्किन्थ्यो । मलाई किनकिन आफ्नो स्वभावभन्दा बाहिर गएर उनीहरूको बारेमा जान्न मन लाग्यो र भनेँ– ‘हेर्नुस् न, छिमेकी भन्नु मात्रै तपाईंहरूसँग भेट नै भएको छैन, साँच्ची घर कहाँ हो तपाईंहरूको ?’

‘दोलखा…’, उसले छोटो जवाफ दिई ।

‘के गर्नुहुन्छ ?’ हतारहतार आफ्नो मुख्य जिज्ञासा राख्न पाउँदा मन हलुका भएझैँ लाग्यो ।

‘म त खास केही गर्दिनँ, उहाँचाहिँ पत्रकार हुनुहुन्छ,’ उसले भनी ।

‘पत्रकार ?’– आश्चर्यजनक भावमा प्रश्न अनायसै मुखबाट निस्कियो ।

‘हजुर’– उसले भनी ।

‘कहाँ काम गर्नुहुन्छ ? नाम के हो ?…’ म यसरी प्रश्नहरू गरिरहेकी थिएँ मानौं मलाई अर्काको व्यक्तिगत विवरणमा निकै चासो छ ।

उसले बताएको पत्रकारको नाम मेरा निम्ति वर्षौंदेखि परिचित थियो, नाम सुनेर म निकै खुसी भएँ । एउटा चर्चित दैनिक पत्रिकासँग सम्बद्ध त्यो नाममा आएका रिपोर्टिङ, यदाकदा काम गर्दाका अनुभव र लेखहरू मलाई निकै राम्रो लाग्थ्यो तर मान्छे भने कहिल्यै देखेकी थिइनँ । र, देख्ने, भेट्ने खासै रुचि पनि थिएन । कुराकानीबाट थाहा भयो उनीहरूका दुईवटा छोराछोरी रहेछन् र दुवै होस्टल बस्दारहेछन् ।

त्यसदिन दिनभरि मलाई ती महिलाको अनुहार र पत्रकारको नाम आँखा वरिपरि आइरह्यो । विचरा त्यति ठूलो पत्रकार आफ्नी श्रीमतीका ती वचनहरूले उसलाई कति आत्मग्लानि महसुस गरायो होला… ! उसकी श्रीमतीको रातिको संवादबाट आर्थिक रूपले ऊ त्यति सम्पन्न छैन भने कुरा स्पष्ट बुझिन्थ्यो । ओहो ! पैसा र नामबीचको दूरी कस्तो तुलनै गर्न नमिल्ने गरी एक–अर्कादेखि टाढा छ ! अभावले कलह निम्त्याउँछ भन्छन्, त्यो साँच्चीकै हो रहेछ, यदि ऊ सम्पन्न हुँदो हो त उसकी श्रीमतीले त्यसो भन्न सक्ने थिइन… पत्रकारप्रति एकोहोरो सहानुभूति राख्दै मैले त्यो दिन कटाएँ । तर, उसलाई प्रत्यक्ष देख्ने इच्छा भने लामो समयसम्म पूरा हुन सकेन ।

बेलुका म सुत्दा ऊ आएकै हुँदैनथ्यो र बिहान म हिँड्दा ऊ सुतिरहेको हुन्थ्यो । त्यसबीचमा उसकी श्रीमतीसँग भने राम्रो सम्बन्ध भएको थियो । ऊ प्रायः भन्ने गर्थी, ‘मलाई यो किताब, कापी, कलम र कम्प्युटरजस्ता कुराहरूसंग त घृणा नै लागिसक्यो ।’ उसका कुराबाट थाहा हुन्थ्यो उसलाई लेखपढमा कुनै रुचि छैन र ऊ आफूले चाहेकोभन्दा नितान्त फरक जीवन बाँचीरहेकी छे ।

पत्रिका लिने बहानाले म एकपटक उसको कोठामा पनि छिरेकी छु । उसको कोठामा भएका किताबहरू देखेर म कति रोमाञ्चित भएकी थिएँ भनेर म यहाँ वर्णन गर्नै सक्दिनँ । मैले दङ्ग परेर किताबहरू हेरेको देखेर उसले भनेकी थिई, ‘ल हेर्नुस् दिदी सम्पत्तिको नाममा यिनै किताबहरू छन्, तात्तो न छारो ।’ उसको बोलीमा समेटिएको असन्तुष्टिलाई बुझेर पनि नबुझेजस्तै गरी मैले भने– ‘हो नि ! ज्ञान र नाम आफैंमा ठूलो सम्पत्ति हो ।’

परिचयको भोलिपल्टदेखि नै उसले मलाई दिदी भन्न थालेकी थिई र म भने उसको नामैले बोलाउँथें– रचना ।

करिव एक वर्षसम्मको आक्कलझुक्कल भेटघाट र उसका कुराकानीका आधारमा मैले उसलाई लोग्नेको कमाइमा बाँच्न चाहने, सम्पूर्ण रूपले लोग्नेमै निर्भर महिलाको रूपमा पाएकी थिएँ । ऊ चाहन्थी– उसको लोग्ने पाँच–छ बजेतिर हातमा केही न केही तरकारीका झोला बोकेर घर आओस्, उसले बनाएको खाजा खाओस्, ऊसँग भलाकुसारी गरोस् र समय बिताओस् । शनिबार आफन्तहरूकहाँ दुवैजना भेटघाटमा निस्किन पाइयोस् र समग्रमा उसको लोग्नेले सम्पूर्ण रूपमा उसलाई मात्र सोचोस् ।

एउटी गृहिणीका लागि आफ्नो लोग्नेलाई लिएर ती कुराहरूको चाहना हुनु अस्वाभाविक पनि होइन । यसका अलावा टेलिसिरियल, सिनेमाजस्ता कुराहरू पनि उसका रुचिका विषय हुन् । कुनै हिन्दी सिरियलको मन छुने दृश्य र संवादलाई लिएर ऊ आफ्नो लोग्नेसँग चर्चा गर्न चाहन्छे, कतै उसको लोग्ने पनि त्यही सिरियलको पात्रजस्तो भइरहेको त छैन भनी शङ्का व्यक्त गर्न चाहन्छे । तर, त्यस्ता कुराहरूमा उसको लोग्नेलाई कुनै रुचि छैन ।

सिरियलकी मुख्य पात्रको लोग्नेको अर्कै केटीसँग सम्बन्ध गाँसिएपछि घर ढिलो आउने गरेको र ऊसँगको भावनात्मक सौहार्दतामा कमी आएको दृश्यले उसलाई पटकपटक झस्काएको छ । कतिपटक त उसले आफ्नो लोग्नेको ढिलो आगमनलाई यस्तै अर्थ नलगाएकी पनि होइन । तर, एक दिन लोग्नेले हात जोडेर ‘मलाई यस्ता कुराहरूसँग कुनै रुचि छैन न त फुर्सद नै छ, तिमी किन अनावश्यक सोचेर मलाई टेन्सन दिन्छ्यौ, बरु तिमी मसँग बस्न चाहन्नौ भने आफ्नो खुसी गर्न सक्छ्यौ, अहिले म धेरै थाकेको छु, कृपया सुत्न देऊ,’ भनेपछि उसलाई शङ्का लागे पनि व्यक्त गर्न भने छाडेकी छे ।

उसले कतिपटक मसँग भनेकी छे– घरमा फोन भने प्रहरी, आर्मीका हाकिमहरूदेखि लिएर नेता र मन्त्रीहरूसम्मको आउँछ, तर एउटा चाडबाड आयो भने कसरी टारुँ भन्ने हुन्छ, छोराछोरीको स्कुलबाट बिल आउने बेला भइसक्यो, एक सेट गहना र एक जोर राम्रो लुगा नहालेको कति भइसक्यो, यस्तो पनि जिन्दगी हुन्छ ? उहाँलाई केही मतलबै छैन । राति सधैं थाकेको छु भन्नुहुन्छ, बिहान उठ्न पाएको छैन हिँड्न हतार हुन्छ, के मेरोचाहिँ कुनै चाहना हुँदैन ?

उनीहरू त्यहाँ आएको करिव तीन महिनापछि मात्रै मैले उसको पत्रकार लोग्नेलाई भेट्ने मौका पाएँ । पातलो शरीर, गम्भीर प्रकृतिको अनुहार, तिलचामले फुलेको कपाल यस्तै थियो उसको बाहिरी रूप । ‘एउटै फ्ल्याटमा बसेको भनेर के गर्ने तपाईंसँग त मेरो भेटै भएको थिएन,’ मैले नै कुराकानीको सुरुवात गरेँ । उसले लेखेका समाचार, समाचार विश्लेषण, लेख र यात्रा संस्मरणको सिलसिलेवार वर्णन गरिदिएपछि ऊ दङ्ग पऱ्यो र भन्यो, ‘मलाई खुसी लाग्यो, तपाईं कति सूक्ष्म अध्ययन गर्नुहुँदोरहेछ ।’ साथै उसले आफूले मुलुकका विभिन्न भागमा गएर रिपोर्टिङ गर्ने क्रममा देखे–भोगेका कुराहरूलाई लिएर एउटा किताब निकाल्न लागेको जानकारी पनि दियो र भन्यो– खै प्रकाशक भेटिन्छ कि भेटिँदैन !

‘तपाईंजस्तो नाम चलेको मान्छेको किताब जसले पनि छापिहाल्छ नि,’ मैले भने । कुरैकुरामा साहित्य र पत्रकारिताको भेद खुलाउँदै उसले भन्यो– म अहिले जे गरिरहेको छु त्यो बाँचुञ्जेलका निम्ति मात्रै हो, तर राम्रो साहित्य सिर्जनाले मरेपछि पनि अमर बनाइरहन्छ । पत्रकारिता त क्षणिक हो, गरुञ्जेल के–के नै गरिरहेको छुजस्तो तर मरेको भोलिपल्टदेखि खासै अर्थ राख्दैन । हेर्नुस् न किशोरीरमण राणाले जीवनभर पत्रकारिता गरे, खै अहिले नामनिशाना छैन । तर, जम्मा ११ वटा कथाले गुरुप्रसाद मैनालीलाई अमर बनाएको छ । ‘हो नि !’ मैल सही थापें । लाग्यो– ओहो ! उसको र उसकी स्वास्नीको संसार कति भिन्न छ ।

‘म जीवनदेखि दिक्क भइसकेँ,’ एक साँझ रचनाको मुखबाट निस्किएका यी शब्दहरूले मलाई दुःखी बनायो । तिमी पूरै लोग्नेमा निर्भर भएका कारणले तिमीलाई यस्तो लागेको हो । उसले तिमीलाई सुविधा दिएन भन्नेबारेमा मात्र तिमी सोचिरहेकी छ्यौ, उसले गरेको दुःख र कामको बोझसँग तिमीलाई कुनै चासो छैन । तिमी आफैं केही किन गर्दिनौ ? मैले भने– हेर तिमीलाई लेखपढमा अलिकति मात्रै रुचि भइदिएको भए तिमीजति सुखी र खुसी अहिले कोही हुने थिएन । आफैंले कमाएर जिन्दगी चलाउने झन्झटबाट मुक्त भई सिर्जनात्मक काममा लाग्न पाउनु जीवनको सबैभन्दा सुखद पक्ष हो । जीवन कसरी जिउने भन्ने कुरा जीवनप्रतिको तिम्रो दृष्टिकोणमा भर पर्छ । तिमी जेलाई सुख देखिरहेकी छ्यौ त्यो अरूका निम्ति नहुन सक्छ । घरमा बसेर टेलिसिरियल हेर्नु वा राम्रा लुगा लगाएर नातेदारकहाँ जानु या दिनभरि कौसीमा घाम ताप्नु, साँझ भएपछि छिमेकीहरूसँग लोग्नेको गुण र दोषको बारेमा कुरा गरेर समय गुजार्नु पनि कुनै जिन्दगी हो ? हो, तिमीले घर सम्हालिदिएका कारण तिम्रो श्रीमानलाई सजिलो भएको छ, घरमा आउनासाथ खान पाएको छ, तिमीले धोएका सुकिला लुगा लगाएर हिँड्न पाएको छ, बच्चाहरूको छुट्टीमा रेखदेख तिमीले गरेकी छ्यौ, तिम्रो श्रीमानको करियरमा तिम्रो ठूलो योगदान छ, त्यो कुरा व्यक्त नगरे पनि उसले पक्कै महसुस गरेको होला । हेर ! तिमी पढेलेखेकी छ्यौ, तिमीले चाह्यौ भने आत्मनिर्भर बन्न सक्छ्यौ । तिमीले केही गर्न थाल्यौ भने अहिले तिम्रा निम्ति बोझ र लामो भएको यही समय कति छोटो र सुन्दर हुनेछ, तिमी किन सोच्दिनौ ? मेरो लामो लेक्चरपछि उसले केही बुझेजस्तो गरी र टाउको हल्लाई । त्यसको एक हप्तासम्म मैले उसलाई घरमा देखिन । लाग्यो सायद उनीहरूबीच ठाकठुक प¥यो होला र ऊ माइत गएकी होली । शनिबारको साँझ ऊ मसँग भनिरहेकी थिई– अहिले उहाँको जस्तै दिनचर्या मेरो भएको भए के हुन्थ्यो होला ? मैले केही सोच्दै नसोची फ्याट्ट भनिदिएँ– ‘के हुनु र तिमीहरू अहिले सँगै हुने थिएनौ ।

एक रात अबेलासम्म ऊ मसँग कुरा गरेर बसी, उसको मुहारमा पहिलोपटक मैले त्यस्तो खुसी देखेकी थिएँ । उसले भनी, ‘म आफूलाई परिवर्तन गर्न चाहन्छु, आत्मनिर्भर भएर आफ्नै खुट्टामा उभिन चाहन्छु ।’ सायद उसले कतै काम पाउने करिबकरिब निश्चित भएको थियो, त्यसैले ऊ खुसी भएकी थिई । उसका कुराहरूबाट मैले त्यही अन्दाज गरेकी थिएँ । उसले नबताएपछि मैले सोधिरहन आवश्यक ठानिनँ, तर ऊ भन्दै थिई– आज उहाँ चाँडै आइदिए हुन्थ्यो जस्तो लागेको छ, मेरो कुरा सुनेर उहाँलाई अचम्म लाग्न सक्छ, म सरप्राइज दिन चाहन्छु ।

ऊ आफ्नो कोठामा गएको एक घन्टाजति पछि त्यस्तै बाह्र बजेतिर गेट खोलेको आवाज आयो, उही पत्रकार आएको हो भनी अन्दाज गर्न मलाई गाह्रो थिएन । तर, त्यस दिन अरू पनि कोही बोलेको आवाज मैले सुनें, म ब्युँझै भएकाले प्यासेजको ढोका मैले नै खोलिदिएँ । ढोका खोल्नासाथ त्यहाँ उभिएका दुईजनामध्ये एकले अलि हड्बडाएर भन्यो– ‘साँझको एउटा पार्टीबाट अफिस फर्कने क्रममा दाइको दुर्घटना भयो, उहाँ साथीको मोटरसाइकलको पछाडि बस्नुभएको रहेछ, अहिले हस्पिटलमा हुनुहुन्छ ।’

उसको संवाद पूरा नहुँदै रचना हाम्रो छेउमा आइसकेकी थिई, हतारहतार हामी सबै हस्पिटलतिर दौडियौँ । आईसीयूमा राखिएको उसको लोग्नेको क्षतविक्षत शरीर देखेर ऊ नराम्रोसँग कहालिई । मैले यसो उसको मुखमा हेरेँ, अक्सिजन दिएर कृत्रिम श्वासप्रश्वासमा उसलाई राखिएको थियो । केही क्षण पछाडि अक्सिजन निकालेर हाम्रै आँखाअगाडि उसलाई मृत घोषणा गरियो । रेडियो, टेलिभिजन, पत्रपत्रिका जताततै उसको मृत्युको समाचार आयो । रचना धेरै दिनसम्म नराम्रोसँग रोइरही ।

पैंतालिस दिनको तिथिमा पत्रपत्रिकामा उसका बारेमा प्रकाशित संस्मरण र समवेदनाहरू हेर्दै उसले भनी– ‘अहिलेसम्म उहाँको बारेमा त्यत्तिकै छापिइरहेको छ ।’ म भन्न चाहन्थेँ– तिम्रो श्रीमानको नाम र परिचय नै उसको कमाइ हो, रातदिनको दौडधुप र अभावग्रस्त जीवन बाँचेर आर्जन गरेको सम्पत्ति हो । तर, यो कुरालाई मनमै राख्दै मैले भनेँ– ‘अब तिमीले मन दह्रो गर्नुपर्छ, सम्झ तिमी यात्रामा एक्लै थियौँ, केही समयका निम्ति तिमीहरूको भेट भएको थियो र जीवनको अनिश्चित यात्रामा तिमी पुनः एक्लै भएकी छ्यौ ।’ उसले लगातार आँखाबाट आँसु झारिरही… !!

(कथा सङ्ग्रह ‘सम्बन्धहीन सम्बन्धहरू’बाट । ०६१ सालमा पहिलोपल्ट ‘समय’ म्यागजिनमा छापिएको यो कथा रुसी भाषामा समेत प्रकाशित भएको छ ।)