चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी

चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी


■ रमेश लम्साल

सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरूले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले । बडारेर सफा पारिएको सडकको किनारामा लहरै राखिएका गमला देखेर पैदलयात्रीले समेत चाख मानेर हेरे, अनि भने ‘आहा हाम्रो काठमाडौँ’ ।

सडकका किनारामा लहरै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङको ठूलाठूला फोटो टाँसिएको छ । फोटोमुनि लहलह फुलेका सयपत्री छन् । शरद ऋतुको समय फूलैफूलको मौसम । अनि नेपालीको चाडबाडको समय पनि । हिमाल, पहाड, तराई सबैतिर फूल फूलेका छन् । त्यही फूल राजधानीको सडकमा चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका छन् ।

दुई दशकपछि चिनियाँ राष्ट्रपति नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि शनिबार आउँदै हुनुहुन्छ । भ्रमणलाई सफल बनाउन भइरहेका तयारीमध्येको एउटा दृश्य हो सुन्धाराको । गमलामा फूल रोप्दै रहनुभएका रामगोपाल श्रेष्ठले भन्नुभयो, ‘पाहुना आउँदा घर आँगन सिँगार्ने, सफा सुग्घर बनाउने चलन नै हो । हामीले त्यही गरेका हौँ ।’

नेपाली संस्कृतिले पाहुनालाई भगवानको स्वरूप मान्ने गरेको छ । नेपालीले पाहुनाको स्वागत हृदयदेखि नै गर्ने गरेका छन् । सोहीअनुसार सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक चिटिक्क पारेको छ । सडक किनारामा बनाइएका स्वागतद्वारमा लेखिएको छ ‘सगरमाथा र गौतमबुद्धको जन्मस्थल नेपालमा स्वागत छ ।’ यस्तै स्वागतका लागि तयार गरिएका फ्लेक्समा शे–फोक्सोन्डो ताल, बिपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथ, गौतमबुद्धको जन्मस्थललगायतका तस्वीर राखिएको छ ।

राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडमेल गरिएको छ । राजधानीको मुटुमा रहेको तीनकुनेलाई रामचन्द्र बस्नेत र उहाँको समूहले कल्की, पाम, धुपीका बिरुवा रापेर हराभरा बनाएका छन् । यस्तै, विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घले चिनियाँ राष्ट्रपतिको स्वागतमा स्वागतद्वार बनाएका छन् ।

यस्तै नेपाल टेलिकम, कर्मचारी सञ्चयकोष, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायतका निकायले स्वागतद्वार बनाएका छन् । स्वागतद्वारलाई सकेसम्म मौलिक र नेपाली कला र संस्कृति झल्काउने प्रयास गरिएको छ । काठमाडौँ महानगरले चिनियाँ राष्ट्रपतिको स्वागतलाई सकेसम्म काठमाडौँ उपत्यकाको संस्कृतिलाई झल्काउने प्रयास गरेको छ । नेपाल र चीनबीच शताब्दीऔँ पुरानो मैत्रीसम्बन्ध रहँदै आएको छ ।

विशेष गरी विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल रहेको नेपाल र अधिकाश चिनियाँले समेत सोही धर्मलाई अनुशरण गरेका कारणले पनि विशेष सम्बन्ध रहँदै आएको छ । राष्ट्रपतिको स्वागतमा राखिएको द्वारमा लेखिएको ‘गौतमबुद्धको जन्मस्थलमा स्वागत छ’ भनेर लेखिएको नाराले नै त्यस्तो सम्बन्धलाई मुखरित गरेको छ ।

तार व्यवस्थापनमा सक्रिय प्राधिकरण

यस्तै नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा असरल्ल रहेका तार व्यवस्थापनको काम गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, लैनचौर, रत्नपार्कलगायतका स्थानमा तार व्यवस्थापन गरेको छ । यस्तै, कुलेश्वर, कालीमाटी, टेकुलगायतका स्थानमा पनि सडकबत्ती थप गरिएको छ भने तार व्यवस्थापन गरिएको छ । प्राधिकरणको बानेश्वर वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीका अनुसार आज दिनभर नै आफ्नो क्षेत्रको विद्युतीय तार तथा सडकबत्ती थप गरी व्यवस्थित गरिएको छ ।

यस्तै नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक तथा अन्य सम्बद्ध सङ्घ संस्थाले ‘बकेट’सहितको क्रेन परिचालन गरी तार व्यवस्थापन गरिएको हो । चिनियाँ राष्ट्रपतिको सवारी मार्गमा पर्ने सबै प्रकारका तार व्यवस्थापनको काम आज अबेरसम्म सक्ने गरी तयारी गरिएको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्र, बानेश्वर र कुलेश्वर वितरण केन्द्रले मातहतका सबै क्षेत्रमा तार व्यवस्थापन गरेको हो ।

शहरी सौन्दर्य अभिवृद्धिका लागि पनि तार व्यवस्थापन जरुरी रहेको विषयमा विगतदेखि नै कुरा उठ्दै आएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै एक सार्वजनिक सूचनामार्फत तार व्यवस्थापनका लागि अनुरोध गरेको थियो ।

यस्तै सोल्टी होटल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भट्टेडाँडा र फुल्चोकीको रिपिटर टावरमा समेत नियमित र एकै भोल्टेजको विद्युत् उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई बुधबार नै आग्रह गरिसकेको छ ।

विशेष गरी नेपालको प्यागोडाशैलीको अनुशरण पनि चीनले गरेको बताइन्छ । अरनिको, भृकुटीले जोडेको दुई देशको सांस्कृतिक सम्बन्ध पछिल्लो दिनमा अझै विस्तारित भएर गएको छ । आर्थिकरूपमा सबल र सक्षम शक्तिको रूपमा स्थापित भएको चीनले नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको छ ।

पछिल्लो पटक चिनियाँ राष्ट्रपतिले अगाडि सार्नुभएको बिआरआइको सङ्कल्पलाई नेपालले आत्मसात् गरिसकेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बिआरआइमा हस्ताक्षर गरेको थियो । विश्वमा नै भौतिक पूर्वाधार निर्माणमा ख्याति कमाएको चीनले नेपालको आर्थिक विकासमा पनि विगतदेखि नै खुल्ला हृदयले सहयोग गर्दै आएको छ । विशेष गरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीलगायतका आयोजनामा चिनियाँ निर्माण व्यवसायीले काम गरिरहेका छन् ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि गरिएको तयारीले पनि दुई देशको सम्बन्ध जनस्तरसम्म अभिवृद्धि भएको सहजै अनुमान गरिएको छ । सडक कालोपत्रे गर्र्ने, ट्राफिक सङ्केत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम सकिसकेको छ ।

माइतीघरमण्डलालाई सजाएर आकर्षक बनाइएको छ । सजावटमा नेपाली सेना, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाका कर्मचारी आजसम्म पनि खटिएका छन् । विगतमा पनि अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति नेपाल आउँदा यसैगरी सिँगार्ने गरिएको थियो ।


all picture:rss