चेन्नईमा चिनियाँ राष्ट्रपति

चेन्नईमा चिनियाँ राष्ट्रपति


भारत भ्रमणका क्रममा चेन्नई पुगेका चीनका राष्ट्रपति सी चिनपिङले शुक्रबार स्थानीय सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक कहत्वका स्थलहरुको भ्रमण तथा अवलोकन गरेका छन् ।

धार्मिक तथा संस्कृतिक महत्वका स्थलहरुको अवलोकन भ्रमणमा शुक्रबार राष्ट्रपति सीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै स्थानीय देवालयहरूको भ्रमणमा साथ दिए ।

दुवै नेताले पञ्चरथ, कृष्णको जीवनीसँग जोडेर हेरिने मख्खन पर्खाल, अर्जुनले तपस्या गरेको ठाउँ र शोर मन्दिरको भ्रमण गरेका एएनआईले जनाएको छ। शोर मन्दिरमा सीको स्वागतार्थ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो। सांस्कृतिक कार्यक्रमअन्तर्गत लोकनृत्य मार्फत् रामायणका केही अंश देखाइएको थियो ।

समुद्र तटमा रहेको सो मन्दिरमा सी र मोदीले दर्शन गरे जहाँ शिव र विष्णु भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ । ती स्थलहरूको भ्रमणका क्रममा दुवैबीच अनौपचारिक कुराकानी हुनुका साथै संयुक्त रूपमा फोटो पनि खिचाइएको थियो ।

आफूले घुमाएका सांस्कृतिक तथा धार्मिक ठाउँहरूको बारेमा राष्ट्रपति सीलाई प्रधानमन्त्री मोदीले नै व्याख्या गरेर सुनाएका थिए भने भाषा अनुवादकहरूले दुवैलाई सहयोग गरेका थिए । भ्रमणका क्रममा राष्ट्रपति सी सेतो कमिज र कालो पाइन्टमा देखिएका थिए भने प्रधानमन्त्री मोदी स्थानीय तमिल नाडुको परम्परागत पोशाकमा उपस्थित थिए ।

राष्ट्रपति सीको चेन्नईमा भव्य स्वागत गरिएको छ । तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र मानिन्छ । चेन्नई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी पनि हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि राष्ट्रपति चिनपिङ शुक्रबार अपराह्न चेन्नई पुगेका हुन् । बैठकका क्रममा दुबै नेताबीच दीर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा विचार विमर्श भएको बताइएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा दुवैका बीचमा अहिलेसम्म १४ पटक भेटवार्ता भएको छ । सन् २०१४ मा अहमदावाद, सन् २०१५ मा सियान र सन् २०१८मा चीनकै युहानमा यी दुई नेताबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिने गरिएको छ ।

चिनियाँ राष्ट्रपति भारतमा शुक्रबार र शनिबार गरी करिब ६० घण्टा रहने र शनिबार नेपालको राजकीय भ्रमणका लागि अपरान्ह् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । नेपालमा दुई दिनको भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वलीलगायतका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ । चिनियाँ राष्ट्रपति आइतबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।