दशैँभत्ता लिने जनप्रतिनिधिका लागि ‘चन्दा’ संकलन शुरु

दशैँभत्ता लिने जनप्रतिनिधिका लागि ‘चन्दा’ संकलन शुरु


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख तथा वडाअध्यक्षहरूले दशैँभत्ता लिएको विरोधमा दिपावली खर्च जुटाइदिन भन्दै तौलिहवाका नागरिक अगुवाहरूले चन्दा संकलन अभियान सुरु गरेका छन् ।

नगरपालिकाका प्रमुख तथा वडाअध्यक्षहरूले दशैँभत्ता लिएको विरोधमा नागरिक अगुवाहरूले सो निर्णयको विरोधस्वरूप उनीहरूलाई दिपावली खर्च जुटाउने अभियान सुरु गरेका हुन् ।

जनताको करबाट प्राप्त रकम जनप्रतिनिधिहरूले दशैँभत्ताका रूपमा लिनु नगरवासीको हितमा नरहेको भन्दै त्यसविरुद्ध आफूहरू विरोधमा उत्रिएको नागरिक अगुवाहरूले बताएका छन् । बढ्दो महँगीमा एक महिनाबराबरको भत्ता रकमले दशैँ खर्च नगरप्रमुख र वडाअध्यक्षहरूलाई नपुग्ने भन्दै व्यंग्यात्मक शैलीमा पाँच÷दस रूपैयाँ चँदा संकलन सुरु गरेको मधेश मानवअधिकार गृहका अध्यक्ष रवि ठाकुरले बताए । तौलिहवा बजार परिक्रममा गरी दशैँ अवधीभर चन्दा संकलन गरिने र संकलन भएको सो रकम दीपावलीको अवसरमा नगरप्रमुख किरण सिंहलाई दिपावली खर्चबापत बुझाइने अध्यक्ष ठाकुरले बताए ।

‘स्थानीय सरकारको रूपमा रहेको नगर कार्यपालिकाले बहुमतबाट जे जे निर्णय गरे पनि लागु हुन्छ भन्ने दम्भ नगरप्रमुख तथा वडा अध्यक्षहरूमा छ,’ अधिकारकर्मी ठाकुरले भने, ‘त्यस्ता दम्भ तोड्न पनि अब नागरिक समाज र नागरिक अगुवाहरूले खबरदारी गर्नु पर्छ ।’

अभियानलाई गैरसरकारी संस्था महासंघ, जवाफदेहिता निगरानी समिति, जेष्ठ नागरिक समाज, दलित महिला अधिकार संघ, कालिका स्वावलम्बन सामाजिक केन्द्र, तौलिहवा उद्योग वाणिज्य संघ लगायतका नागरिक संघसंस्थाहरूले नेतृत्व गरेका छन् । नगर क्षेत्रको विकास र जनप्रतिनिधिहरूको जवाफदेहिताका लागि अब निरन्तर रूपमा यस्ता खबरदारी कार्यक्रम सञ्चालन गरिने गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रवीण कुमार श्रीवास्तवले बताए ।

जिल्ला तथा अन्यत्रका नगरपालिकाहरूले पनि दशैँ खर्च बुझेका कारण आफूहरूले पनि दशैँ खर्च बुझेको नगरप्रमुख किरण सिंहले बताए ।