बाजागाजा र झाँकीसहित दुर्गा-मूर्ति बिसर्जन

बाजागाजा र झाँकीसहित दुर्गा-मूर्ति बिसर्जन


■ नारद कोहार, कपिलवस्तु

जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएका दुर्गा भवानीका मुर्ति बिसर्जन गरिएको छ । जिल्लाभरका १० वटा स्थानीय तहमा स्थापना गरिएका करिव २ सय बढी मुर्तिलाई आज बिसर्जन गरिएको हो ।

टीकाटालोको क्रम सकिएपछि घटस्थापनाका दिन दशैंघरमा राखिएका दुर्गाभवानीका मुर्ति, श्रीगणेश, कार्तिकेय, लक्ष्मी, सरस्वतीको प्रतिमालगायतका सामग्री तथा अवशेषलाई स्थानीय नदि, पानीपँधेरा तथा जलघाटमा लगेर सेलाउने सामाजिक चलन रहेको छ ।

घटस्थापनाका दिन देखि मुर्ति प्रतिस्थापन गरी स्थानीयलाई दर्शन गराउने उद्देश्यले जिल्लाका धेरै स्थानका चोक चोकमा अस्थाई रुपमा दुर्गा भवानीका मुर्ति स्थापना गरिएको थियो ।

मुर्तिहरुलाई नजिकको नदिमा बाजागाजासहित सयौँको सहभागितामा लगेर आज सेलाइएको छ । कोजाग्रत पुर्णिमासम्म सेलाउने परम्परा रहेको धार्मिक विदहरुको भनाई छ ।

यता तौहिलवा, वाणगंगालगायत स्थानमा निकालिएको झाँकीलाई भक्तजनहरुले नगर परिक्रमा गराई रामघाट र वाणगंगा नदिमा लगेर बिर्सजन गरेका थिए । बाजागाजा र नाचगानसहित भक्तजनहरु रामघाट नदी पुगेका थिए । मुर्ति सेलाउने विभिन्न स्थलहरुमा मेलासमेत लागेको थियो । सम्भावित अस्वाभाविक घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको थियो ।

कपिलवस्तुमा दुर्गा भवानीको पुजाआजा गर्ने प्रचलन ज्यादा भएका कारण सबैको घरमा मुर्ति स्थापना गरेर पुजा गर्न नसकिने हुँदा स्थानीय टोलवासी जम्मा भएर सामुहिक रुपमा चोक चोकमा मुर्तिहरु स्थापना गरिएको थियो । उता कृष्णनगरमा पनि कडा सुरक्षाका साथ मुर्ति विर्सजन गरिएको बुझिएको छ । त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले हिजो दिउँसो १२ बजे देखि आज विहान ६ बजेसम्म १८ घण्टा सिमा नाकामा नियन्त्रित बन्द गरेको थियो । गत वर्ष मुर्ति विसर्जनको समयमा विवाद हुँदा झडप भएकोले सुरक्षा व्यवस्थामा प्रशासनले कडाई गर्न थालेको छ ।