हराउँदै जान थालेपछि रोटेपिङको जगेर्ना

हराउँदै जान थालेपछि रोटेपिङको जगेर्ना


विगतमा प्रशस्तै हालिने रोटेपिङ पछिल्लो समयमा हराउँदै जान थालेपछि लमजुङमा स्थानीय सरकारले यसको जगेर्ना गर्न थालेको छ । शहरबजारबाट मात्रै नभई गाउँघरबाटै रोटेपिङ हराउन थालेपछि राइनास नगरपालिकाले वडा नम्बर ५ तीनपिप्लेमा रोटेपिङ निर्माण गर्दै यो संस्कृतिको जगेर्नामा लागेको हो ।

नगरभित्र विभिन्न स्थानमा केही वर्षअघिसम्म दशैँ आउन केही समय बाँकी छँदै रोटेपिङ हालिने गरेपनि पछिल्लो समय लोप हुन थालेपछि नगरपालिकाले रोटेपिङ निर्माण गरेको नगर प्रमुख सिंहबहादुर थापा बताउँछन् ।

वर्षमा एक दिन धर्ती छोड्नुपर्छ भन्ने परम्परागत संस्कार तथा जनविश्वास रहिआएको छ । यसरी दशैँमा हालिने रोटेपिङको जगेर्नामा नगरपालिकाले आगामी दिनमा पनि निरन्तरता दिने नगरप्रमुख थापाको प्रतिबद्धता छ । तीनपिप्लेमा तीन वर्षअघिदेखि रोटेपिङ रोकिएपछि नयाँ निर्माण गरिएको वडाध्यक्ष नन्दबहादुर कुमालले बताए ।

नगरपालिकाका साथै स्थानीय दिनेश पाण्डेलगायत १० जना स्थानीयवासीको अगुवाइमा उक्त रोटेपिङ निर्माण गरिएको कुमालले बताए । नगरपालिकाको २५ हजार, स्थानीयवासीको २० हजार गरी रु ४५ हजारमा पिङ निर्माण गरिएको छ ।

त्यस्तै पिङ संस्कृतिलाई जोगाउनका लागि बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित काउलेपानीका स्थानीयवासी युवाले रोटेपिङ निर्माण गरेका छन् । पिङ संस्कृति जोगाउनका लागि स्थानीय सयपत्री मिलन समूहमा आबद्धमध्ये ११ जना युवा मिलेर रु ६० हजारमा रोटेपिङ निर्माण गरेको स्थानीयवासी कवीन्द्र गुरुङले जानकारी दिए ।

वर्षेनी दशैँमा लमजुङ दरबारनिर त्यहाँका स्थानीयवासीले रोटेपिङ हाल्ने गरेपनि यस वर्षदेखि छोडेपछि नजिकैको गाउँ काउँलेपानीमा पहिलो पटक स्थानीयवासीले रोटेपिङ निर्माण गरेका राससले जनाएको छ ।