करण र सन्दिपले दिलाए टि-२० सिरिजमा नेपाललाई दोस्रो जित

करण र सन्दिपले दिलाए टि-२० सिरिजमा नेपाललाई दोस्रो जित


■ आरके श्रीवास्तव, ओमान

ओमानमा चलिरहेको पाँच राष्ट्र सम्मिलित टि–२० सिरिजमा नेपालले लगातार दोस्रोपटक जित दर्ज गर्न सफल भएको छ । ओमान क्रिकेट एकेडेमीमा चलिरहेको सिरिजमा हङकङपछि आज सोमबार नेदरल्यान्डलाई पनि चार विकेटले हराउन सफल भएको छ ।

राजधानी मस्कटको अल अमिरातस्थित क्रिकेट ग्राउण्डमा भएको खेलमा म्यान अफ दि म्याच घोषित करन केसीले ३१ रन बनाएका थिए भने बलिङतर्फ चार विकेट लिएका थिए । त्यस्तै सन्दिप लामिछानेले पनि चार विकेट हात पारेका थिए । केसी र लामिछानेले नेपाललाई विजयी बनाएका थिए । टस जितेर नेपालले क्षेत्ररक्षण गर्ने निर्णय गरेको थियोे ।

नेदरल्यान्डले १९ ओभर ३ बलमा १ सय ३३ रन बनाएर अलआउट भएको थियोे । नेदरल्यान्डको तर्फबाट म्याक्स ओदाउदले सर्वाधिक ४३ रन बनाएका थिए । जवाफमा नेपालले १९ ओभर ५ बल खेल्दै ६ विकेटको क्षतिमा १ सय ३४ रन बनाएर जित हासिल गर्न सफल भएको थियो । नेपालका लागि कप्तान पारस खड्का ३३, विनोद भण्डारी २६, पवन सर्राफ ९, आरिफ शेख २, डिएस ऐरी ८, रोहित पौडेल ५, सोमपाल कामीले ३ रनको योगदान दिएका थिए । ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेकोले केसीलाई म्यान अफ द म्याच दिइएको थियोे । स्मरण रहोस्, हिजो आइतबार नेपालले हङकङलाई चार विकेटले हराएको थियो । आजको जितसँगै नेपाल अंकतालिकामा चार अंकसँगै दोस्रो स्थान छ भने ओमान रनरेटको अधारमा पहिलो स्थानमा रहेको छ ।

नेपालले आफनो तेस्रो खेल ९ अक्टोबर २०१९ बुधबारका दिन स्थानीय समयअनुसार विहान ९ बजे खेल्नेछ ।