भण्डारीको अर्द्धशतकको मद्दतले नेपालद्वारा हङकङ चार विकेटले पराजित

भण्डारीको अर्द्धशतकको मद्दतले नेपालद्वारा हङकङ चार विकेटले पराजित


■ आरके श्रीवास्तव, ओमान

ओमानमा जारी पाँच राष्ट्रसम्मिलित टी-२० क्रिकेट सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा हङकङमाथि रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै नेपालको सुखद सुरूआत भएको छ ।

आइतबार भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको छ । टस जितेर नेपालले बलिङ रोजेको थियो । ब्याटिङ गर्न उत्रेको हङकङले बीस ओभरमा ६ विकेटको क्षतिमा एक सय पच्चीस रन बनाएको थियो । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा प्राप्त गरेको थियो ।

ओपनरको रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भएका थिए । पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेल पनि कम स्कोरमा आउट भए । पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए । एक समय ३६ रनको स्कोरमा ४ विकेट गुमाइसकेको नेपालले विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेल जिताएका थिए ।

आरिफ शेखले २४ बलमा २१ रन बनाएका थिए । सोमपालले १३ बलमा १३ रन बनाए । नेपाल जितको नजिक पुगेका बेला सोमपाल पनि आउट भए । त्यतिबेला नेपाललाई जितका लागि १२ बलमा ११ रन आवश्यक थियो । विनोदले १८औं ओभरको पाँचौं बलमा छक्का हान्दै आफ्नो अर्धशतक पुरा गरे भने छैटौं बलमा २ रन लिँदै नेपाललाई जिताए । करण केसीले ४ विकेट लिएका थिए भने अविनाश बोहराले एक विकेट लिए तथा हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

नेपाली खेलाडीहरूको हौसला बढाउन नेपाली दर्शकहरू बीच ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थिति रहेको थियोे । साथै ओमानवासी नेपालहरूको धेरै संख्यामा सहभागिता रहेको थियो ।

ओमानको सोहारबाट नेपाल बज्जिका पत्रकार संघ ओमान, गैरअवासीय नेपाली सोसल क्लब क्षेत्रीय समन्वय परिषद सोहार , नेपाली जनसम्पर्क समित क्षेत्रीय समिति सोहार, नेपाल-सोहार सोसल क्लब ओेमानका प्रतिनिधिहरू सहित राजधानी मस्कटमा बस्ने नेपालीहरूको भव्य सहभागिता रहेको थियो । नेपालले भोली सोमबार नेदरल्याण्डसँग दोस्रो खेल खेल्नेछ ।