राखेपद्वारा सर्वोच्च अदालतको अपहेलना

राखेपद्वारा सर्वोच्च अदालतको अपहेलना


■ श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदले सर्वोच्च अदालतको आदेशको अपहेलना गरेको छ । १३औँ दक्षिण एसियाली खेलकुदको (साग)को लागि कुस्ती खेलका खेलाडीको छनोट गरेर राखेपले सर्वोच्चको आदेशको अपहेलना गरेको हो ।

सर्वोच्चले नेपाल कुस्ती संघको विवाद सम्बन्धमा असोज ७ गते फैसला गर्दै अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा अर्को निर्वाचन नभएसम्म वर्तमान कार्यसमितिलाई निरन्तरता दिँदै असोज २८ गते दुवै पक्षलाई छलफलको लागि पेशी तोकेको थियो । सो अवधिसम्म कुनै पनि कामकारवाही अगाडि नबढाउनु भन्ने अदालतको आदेश छ ।
तर, सर्वोच्चको उक्त आदेशको अपहेलना गर्दै राष्ट्रिय खेलकुद परिषदले असोज १५ गते हेटौँडामा १३औँ सागको लागि उसु खेलाडीको छनोट गरेको छ । कुस्ती खेलाडीको छनोट गरिएको बारेमा राष्ट्रिय टीम तयारी समितिका निर्देशक महेन्द्र राईले सामाजिक सञ्जालमा राखेका तस्बिरहरूले पनि यसको पुष्टि गर्छ ।

ती तस्बिरमा खेलाडीभन्दा पदाधिकारी बढी देखिन्छन् भने प्रायजसो खेलाडी कुस्ती नै नलडी सोझै छनोट गरिएका थिए, जसलाई एसियाली खेलकुदमा कुस्ती खेलमा आफ्नो सहभागिता जनाएका एक खेलाडीले दुर्भाग्यपूर्ण भनेर सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन् । छनोट भएका खेलाडीलाई बधाई दिँदै उनले यस्तो छनोटबाट नेपालले १३औं सागमा कति पदक जित्ला, प्रश्न समेत गरेका छन् । तर निर्देशक राईले यस्तो विवादित र गैरकानुनी रुपमा भएको छनोटलाई समेत बाघ नै मारेजस्तो गरी धक्कु लगाउँदै आफ्नो पदीय जिम्मेवारीलाई चाकरी–चाप्लुसीको घेरामा पारेका छन् ।

यसबारे निर्देशक राईसँग सम्पर्क गर्दा आफूलाई सर्वोच्चको आदेशको बारेमा कुनै जानकारी नभएको बताए । सर्वोच्चको फैसलाको बोधार्थ राखेपमा आए–नआएको आफूलाई जानकारी नभएको तर आफूकहाँ चाहिँ त्यस्तो कुनै पत्र राखेपबाट नआएको राईको दाबी छ । राखेपबाट त्यस्तो कुनै पत्र नआएपछि आफुले कुस्ती खेलको छनोटको लागि हेटौँडामा प्रतिनिधि पठाएको खुलासा गरे । यो बारेमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवालसँग टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यसरी सर्वोच्चको आदेशलाई अपहेलना गर्दै विवादित तदर्थ समितिका अध्यक्ष राजमोहम्मद अन्सारीलाई छनोटको जिम्मा दिएर राखेपले सर्वोच्चको आदेशको उपहास गरेको छ । राजनीतिक शक्तिको पहुँचका कारण अन्सारी कुस्तीको तदर्थ समितिको अध्यक्ष बने पनि उनी कसरी कुस्ती संघको अध्यक्ष बने भन्नेबारे खेलकुदमा कसैलाई जानकारी छैन । अन्सारीको कुस्ती संघ राखेपमा दर्ता पनि छैन । अहिलेसम्म आधिकारिक संघको रुपमा नारायणदेव राणाले कुस्ती संघ चलाउँदै आएका थिए । उनी राखेपमा दर्ता भएको वैधानिक कुस्ती संघका अध्यक्ष हुन् ।

स्मरण रहोस्, आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी गत जेठ २५ गते नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले निर्वाचनको लागि राखेपमा निवेदन दर्ता गराएका थिए । तर राखेपले निर्वाचनको स्वीकृति दिनुको साटो उल्टै राणा अध्यक्ष रहेको संघलाई असार ९ गते पुनर्गठन गरेको थियो । त्यसपछि कुस्ती संघको तदर्थ समिति गठन गर्दै राजनीतिक पहुँचको आधारमा राजमोहम्मद अन्सारीलाई राखेपले तदर्थ समितिको अध्यक्ष बनाएको थियो ।

यसरी विनाजानकारी आफु अध्यक्ष रहेको संघलाई पुनर्गठन गरेपछि राणाले राखेपलाई विपक्षी बनाउँदै सर्वोच्चमा अन्तरिम आदेशका लागि निवेदन दर्ता गराएका थिए । सो मुद्दाको वहसपछि सर्वोच्चले कानुनमा लिखित प्रावधानविपरीत संघको कार्यसमिति विघटन गर्दा निवेदकलाई सफाईको मौका नै नदिई सुविधा र सन्तुलनको दृष्टिकोणले अपुरणीय क्षति पुगेको भन्दै राखेपको असार ९ को निर्णय र सोअनुसार गरिएको पत्राचार समेतका कामकारवाही यथास्थितिमा राखी आधिकारिक कार्यसमितिलाई नै काम गर्न दिनु भनि अन्तरिम आदेश जारी गरेको थियो ।

साथै विपक्षीलाई बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमा लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको थियो । त्यस्तै अन्तरिम आदेशको माग सम्वन्धमा विचार गर्दा सो प्रयोजनका लागि दुवै पक्षलाई राखेर छलफल गरी निर्णयमा पुग्नु उचित हुने देखिएकोले असोज २८ गते छलफलको लागि पेशी तोकेको थियो ।