नयाँ सभामुख चयन प्रक्रियाले ततायो राजनीतिक वृत्त

नयाँ सभामुख चयन प्रक्रियाले ततायो राजनीतिक वृत्त


‘विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि राजीनामा दिएको छु ।’

कृष्णबहादुर महराले सभामुख पदबाटदिएको राजीनामाको ‘संशोधित’ व्यहोरा हो यो । यसअघि ‘छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि’ भन्ने काइते भाषा प्रयोग गरी दिएको राजीनामामाथि विवाद उठेपछि महराले पुनः भाषा सच्च्याएर राजीनामा दिएका हुन् । उनले सभामुख पदबाट दिएको राजीनामासम्बन्धीे सूचना प्रतिनिधिसभा नियमावलीबमोजिम संसद सचिवालयले बुधबार सूूचनापत्रमार्फत जानकारी गराएको छ ।

सङ्घीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख डा. शिवमाया तुुम्वाहाङ्फेले जानकारी दिएकी छन् । यसपछि सभामुखको पद रिक्त हुन पुगेको छ ।

सम्बद्ध जानिफकारहरूका अनुसार रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन सङ्घीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्छ । त्यसअघि दलहरुबीच कुुन दलले सभामुुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुुपर्ने आवश्यकता देखिएको छ । दलहरुबीच सहमति नभएको खण्डमा निर्वाचनको माध्यमबाट सभामुखको चयन हुनेछ । संविधानको भावनाअनुुसार सभामुख र उपसभामुुखमध्ये फरक दल र फरक लिङ्गको हुनुपर्दछ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक-फरक राजनीतिक दल रहेको अवस्थामा सभामुख र उपसभामुुखको चयन भए पनि दुवै दलको एकीकरणपछि दुुई पदमध्ये एक पद फरक दलको हुनुुपर्छ भन्ने प्रश्न उठ्दै आएको थियो । सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ ।

यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित भएका थिए भने उपसभामुख पदमा मतदान भएको थियो । अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउन आवश्यक छ भन्ने प्रश्नमा उपसभामुख डा. तुम्बाहाम्फेको भनाई छ– ‘नियमित अधिवेशनबाट सभामुखको चयन गर्ने कि त्यसका लागि विशेष अधिवेशन आह्वान गर्ने भन्ने सन्दर्भमा राजनीतिक दल र सरकारबीच हुने छलफल र सहमतिका आधारमा तय हुनेछ ।’

जे होस्, सभामुखबाट महराको लज्जाजनक वहिर्गमनसँगै नयाँ सभामुख चयनको विषयले राजनीतिक वृत्त तताएको छ ।