ओमान धेरै भन्दा धेरै नेपालीलाई स्वागत गर्न इच्छुक

ओमान धेरै भन्दा धेरै नेपालीलाई स्वागत गर्न इच्छुक


■ आरके श्रीवास्तव, ओमान

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको जनशक्ति मन्त्रालयका मन्त्री शेख अब्दुल्लाह बिन नासेर अल बक्रीबीच दुई देशबीचको श्रम सम्बन्धलाई अझ सहज र पहुँचयोग्य बनाउने विषयमा कुराकानी भएको छ । मन्त्री बक्री र राजदूत ढकालबीच गत सोमबार (१३ असोज) भएको द्विपक्षीय भेटवार्तामा यसबारे छलफल भएको हो ।

राजदूतको कार्यकक्षमा भएको सो भेटवार्तामा राजदूत ढकालले नेपाल र ओमानबीच हुने श्रम समझौताको हस्ताक्षर गर्ने सम्बन्धमा ओमानका मन्त्रीको समयबारे जानकारी लिँदै नेपालबाट त्यस सम्बन्धमा अन्तिम तयारी भइरहेको अवगत गराएकी थिइन् । जवाफमा ओमानी मन्त्रीले श्रम समझौताका लागि नेपालीको तदारुकताको प्रशंसा गर्दै ओमान उत्तm समझौता गर्न उत्सुकताका साथ प्रतिक्षारत रहेको जानकारी गराएका बुझिएको छ ।

ओमानमा काम गर्ने नेपालीहरूबारे सकारात्मक धारणा राख्दै मन्त्री बक्रीले ओमान कामदारको लागि सुरक्षित गन्तव्य रहेको उल्लेख गरेका थिए । नेपाली राजदूतावास मस्कटले जनाएअनुसार उनले ओमान धेरै भन्दा धेरै नेपालीलाई स्वागत गर्न इच्छुक रहेकोसमेत बताए ।

भेटवार्ताको अवसरमा ओमानको श्रम मन्त्रालयका वरिष्ठ पदाधिकारीहरू र नेपाली दूतावासका द्वितीय सचिव समेतको उपस्थिति रहेको थियो ।