श्रीकृष्णले सपना देखेकै ठाउँमा फेला परे गाग्रोभरि सिक्का

श्रीकृष्णले सपना देखेकै ठाउँमा फेला परे गाग्रोभरि सिक्का


राज्य बक्री भएका बेला नागरिकले देखेको सपना ‘साकार’ भए पनि विपना ‘साकार’ हुन मुस्किल पर्दोरहेछ । काभ्रेपलाञ्चोकनिवासी एक नागरिकले सपनामा जे देखे विपनामा त्यही भेटे, तर विपनामा भेटिएको यथार्थलाई आकार दिने मौकाचाहिँ उनले पाएनन् ।

उनी अर्थात् श्रीकृष्ण धिमालले राति सपनामा बारम्बार एउटै दृश्य देखे, सेता सर्पहरू पाँचखालको निश्चित ठाउँमा झुम्मिएको । नागसमेत भनिने सर्पहरू ठूलो रूखको फेदमा झुम्मिने र बालबालिकाहरूले तिनलाई दही, दूध खुवाउने गरेको सपना बारम्बार देखेपछि श्रीकृष्णले एक दिन सोही ठाउँमा पुगेर खन्न (उत्खनन गर्न) थाले । एकैछिनको खनाइमा उनले प्राचीन मानाङ्क (सिक्का) सहित माटोका गाग्रा भेटे । त्यसरी भेटिएको सिक्का लिएर उनी काठमाडौंको छाउनीस्थित सङ्ग्रहालयमा पुगे । त्यहाँ पुगेपछि उनले आफूले फेला पारेका सिक्का (मानाङ्क) हरू मानदेवकालीन (अर्थात् लिच्छविकालीन) भएको जानकारी पाए ।

पाँचखालमा कुनै राजाको भव्य दरबार भएको चर्चा धेरैअघिदेखि नै चल्दै आएको भए पनि सत्यतथ्य बुझ्ने तत्परता श्रीकृष्णभन्दा अघि कसैले पनि लिएका थिएनन् । प्राचीनकालमा पलाञ्चोक नामको शक्तिशाली राज्य भएको र राजाको दरबार तथा रानीपोखरीसमेत पाँचखालमा रहेको कहावतलाई साकार तुल्याउन श्रीकृष्ण सक्रिय भए । उनले पाँचखाल क्षेत्रमा उत्खननका लागि २०७४ सालको जेठ महिनामा पुरातत्व विभागमा निवेदन दिएकोमा दुई वर्षपछि २०७६ जेठमा विभागले प्रारम्भिक उत्खनन शुरु गऱ्यो । श्रीकृष्ण धिमालले सपनामा देख्ने गरेकामध्ये एक पीपलको बोटलमुनि खन्न लगाउँदा त्यहाँ दरबारको भग्नावशेष भेटियो ।

पाँचखाल नगरपालिका– ७ को थाठापाखा माल्टार भन्ने ठाउँमा दरबारको भग्नावशेषका साथै प्राचीन इँटा, ढुङ्गाका माला, शिवलिङ्ग, शालीग्राम, ४२ इञ्चको गाह्रो र कोठा भेटिएको हो । दरबारबाट एक सय मिटर पूर्व पाँचसय भन्ने ठाउँमा कनिकेश्वर महादेवको मन्दिरसम्म पानीको प्राचीन कुलो गएको पनि फेला परेको छ । पुरानीको कुवादेखि श्रीराम पाटीस्थित किटिनीको चौरसम्म करिब डेढ किलोमिटर कुलो गई रानीपोखरीमा पानी झारेको र काङ्गियोको कुवादेखि किटिनीको चौरसम्म पानीको अर्को प्राचीन कुलो पनि देखापरेको छ ।

फेला परेका लिच्छविकालीन सिक्कामा एकातिर सिंहको आकार तथा अर्कापट्टि ‘भोगिनी’ लेखिएको, अर्को प्रकारका सिक्कामा कामधेनुगाई र सिंहअङ्कित भएको, त्यस्तै अर्को प्रकारमा कुवेर र कामधेनु गाई तथा अर्कोमा पन्छी र सिंह चित्राङ्कित भएको पाइएको छ ।

पलाञ्चोक राज्य शक्तिशाली रहेको र त्यहाँ राज गर्नेहरूमध्ये राजा शक्तिसिंह रामबर्धनलाई चिनियाँ बादशाहले पत्राचार गरेको व्यहोरा इतिहासमा पढ्न पाइन्छ । अहिले उत्खनन गर्दा इतिहासलाई पुष्टि गर्ने सामग्रीहरू फेला त परेका छन्, तर त्यसलाई थप अध्ययन, अनुसन्धान, उत्खनन र संरक्षण गर्न न पुरातत्व विभगाले तत्परता लिएको छ, न स्थानीय तह र केन्द्र सरकारले नै चासो देखाएको छ । कसैले पनि चासो नदेखाएका कारण विभिन्न इँटाभट्टाहरूले पुरातात्विक सम्पदा नास गर्दै गएका छन् भने स्वयम् श्रीकृष्ण धिमालले पनि आफूले सपनामा देखेका अन्य ठाउँहरूमा उत्खनन गराउने जाँगर चलाएका छैनन् । तथापि सरकारी साथ र विश्वास पाए पाँचखाल क्षेत्रको पुरातात्विक स्थान पहिचान गरी तिनको संरक्षणमा सक्रिय रहने इच्छा श्रीकृष्णले राखेका छन् ।

२०४५ सालको भाद्र कृष्ण जन्माष्टमीका दिन पाँचखालमा जन्मिएका श्रीकृष्ण धिमालले वाणिज्यशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् । १४ वर्षको उमेरमा माओवादीमा लागेका उनी अखिल क्रान्तिकारीको कार्यबाहक जिल्ला अध्यक्षसमेत बनेका थिए । पार्टीलाई थाहै नदिई २०६८ सालदेखि रामकृष्ण मिसनमा आबद्ध उनले माओवादी पार्टी हिन्दूधर्म संस्कृतिविरुद्ध ज्यादा लागेपछि २०७१ सालमा उक्त पार्टीसँगको आबद्धता तोडेका छन् । रामकृष्ण मिसनको सदस्य र रामकृष्ण सेवा आश्रमको अध्यक्षका रूपमा श्रीकृष्ण यतिबेला समाजसेवामा सक्रिय छन् । यिनै श्रीकृष्णले सपना देखेका आधारमा पुरातात्विक ठाउँहरूको पहिचान गरेका छन् ।