सभामुखका छोराले लेखे- ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’

सभामुखका छोराले लेखे- ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’


प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुराचारको विवादमा परेर सभामुख पदबाट राजीनामा दिएपछि उनका छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले सामाजिक सञ्जाल फेसबुकमा एकैप्रकारको भाषा प्रयोग गरी स्टाटस लेखेका छन् ।

उनीहरूले स्टाटसमा बुख्याचाहरू खडा गरेर क्रान्त्रिकारी नेताहरूलाई समाप्त पार्न खोजिएको आरोप लगाएका छन् । यस कार्यमा विदेशी शक्ति र नेपाली दलालहरू चलखेल भएको उनीहरूको भनाइ छ ।

‘राजनीतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्नुपऱ्यो, यो राजनीतिभित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठनद्वारा चिन्ता व्यक्त गर्ने र मिडियामार्फत सहयोग पुऱ्याई षड्यन्त्रको भण्डाफोर गर्न सहयोग पुऱ्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरू चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ,’ उनीहरूद्वारा सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसमा भनिएको छ, ‘बुख्याँचाहरु खडा गरी क्रान्तिकारी नेताहरूको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरू पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ ।’

उनीहरूले चेतावनीको भाषामा लेखेका छन्, ‘समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको छ, क्रान्तिकारीहरूसँग फेरि भेट हुनेछ ।’ उनीहरूले उक्त चेतावनीसहितको स्टाटस सामाजिक सञ्जालमा पोस्ट गर्दा बन्दुक समाएको तस्बिर प्रयोग गरेका छन् ।