राष्ट्रपतिको स्वागत राष्ट्रपतिबाटै

राष्ट्रपतिको स्वागत राष्ट्रपतिबाटै


चिनियाँ राष्ट्रपति सी जिनपिङको केही समयपछि हुने भ्रमणलाई नेपालमा सर्वाधिक उच्च महत्व दिइएको छ । दशैँलगत्तै सीको नेपाल आगमन हुने भनिए पनि औपचारिक तवरमा भ्रमणको तिथि अहिलेसम्म सार्वजनिक भएको छैन । सुरक्षाका कारण भ्रमण मिति सार्वजनिक गर्न हतार नगरेको बताइएको छ ।

एक रातका लागि नेपाल आगमन हुने चिनियाँ राष्ट्रपतिको स्वागतमा कुनै कमी हुन नदिने तयारी सरकारले गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैँले भ्रमणसम्बन्धी तयारीको व्यवस्थापन हेरिरहेको बुझिएको छ ।

भ्रमणको स्वागत, महाअतिथिको सुरक्षा र त्यसक्रममा सहमति गर्नेलगायतका विषयमा परराष्ट्र मन्त्रालयमाथि भर पर्न नसकिने ठानेर हुनुपर्छ, प्रधानमन्त्री ओलीले आफ्नै निगरानी र निर्देशनमा व्यवस्थापनका सम्पूर्ण कार्य गरिरहेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली इन्डो–प्यासिफिक कमाण्डप्रति ज्यादा मित्रवत भएकोले पनि उनको भूमिका सन्देहास्पद ठानिएको छ । त्यसैले प्रधानमन्त्री ओली आफैँ अग्रसर हुनुपरेको बताइन्छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका निमित्त राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू तथा अन्य उच्चपदस्थ व्यक्तिहरू पनि विमानस्थलमा राष्ट्रपतिको स्वागतका लागि लामबद्ध हुनेछन् । ज्ञातव्य छ, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई विश्वका शक्तिशाली मुलुकहरूले समेत गम्भीर चासोका साथ हेरेका छन् । संयुक्त राज्य अमेरिकाले राष्ट्रपति सीको भ्रमणलाई सर्वाधिक गम्भीरतापूर्वक हेरिरहेको छ ।

सीको भ्रमणलाई रोक्न सक्ने अवस्था नरहेकोले यसलाई नजिकबाट नियाल्ने र केही समयपछि उपयुक्त तरिकाले प्रतिक्रिया जनाउने स्थितिमा अमेरिकीहरू रहेको देखिन्छ । प्रदीप ज्ञवालीमार्फत अमेरिकीहरूलाई ‘सन्तुलनमा राख्न’ प्रयास गरिएको भए पनि उक्त प्रयत्न सफल नहुने अब निश्चित भइसकेको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने विश्वासमा पश्चिमा राष्ट्रहरू पहिले नरहेको, विदेशमन्त्री वाङले नेपाल भ्रमण गरेपछि मात्र उनीहरू सीको नेपाल आगमन हुने कुरामा विश्वस्त भएको बुझिन्छ । सी भ्रमणको पूर्वसन्ध्यामा नेपालस्थित अमेरिकी राजदूत ऱ्याण्डी बेरीले उच्च राजनीतिक तहसँगको भेटघाट तथा छलफललाई तीव्रता दिएका छन् । उनको सक्रियताले पनि अमेरिकी छटपटाहटको सङ्केत दिइरहेको छ ।

सत्तारुढ पार्टीसम्बद्ध जिम्मेवार नेता प्रचण्डले औपचारिक तथा सार्वजनिक रूपमै बीआरआईको पक्षमा र इन्डो–प्यासिफिक कमाण्डको विपक्षमा अभिमत जारी गर्नुलाई अमेरिकी कूटनीतिज्ञहरूले गम्भीर चुनौतीको रूपमा लिएको बुझिएको छ । सीको भ्रमणलाई रोक्न सक्ने अवस्था नरहेकोले यसलाई नजिकबाट नियाल्ने र केही समयपछि उपयुक्त तरिकाले प्रतिक्रिया जनाउने स्थितिमा अमेरिकीहरू रहेको देखिन्छ ।

प्रदीप ज्ञवालीमार्फत अमेरिकीहरूलाई ‘सन्तुलनमा राख्न’ प्रयास गरिएको भए पनि उक्त प्रयत्न सफल नहुने अब निश्चित भइसकेको छ । आफू चिनियाँ ध्रुवमा नगएको विश्वास नेपालले दिलाउन नसक्ने ठम्याइ अमेरिकासहित पश्चिमा मुलुकहरूको छ । त्यसैले सी जिनपिङको नेपाल भ्रमणपछि यहाँको राजनीतिक स्थितिमै अनपेक्षित परिवर्तन हुन सक्ने सम्भावना बढेको छ ।

यसअघि २०७३ सालमा केपी ओली प्रधानमन्त्री रहँदा पनि सी जिनपिङको भ्रमण हुन लागेको थियो । त्यसबेला विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले प्रचण्ड र शेरबहादुर देउवाबीच गठबन्धन बनाइदिएर प्रधानमन्त्री पदबाट केपीलाई नै विस्थापित गरिदिएका थिए । तर, यसपटक सीको भ्रमण रोक्न नसकिने निश्चित भएको छ । भ्रमणअघि मन्त्रिमण्डल पुनर्गठन गरिने र वर्तमान सरकारबाट करिब ७५ प्रतिशत मन्त्रीहरू विस्थापित गर्ने सोच बनेको बुझिएको छ ।