अभद्र नेतालाई कस्तो कारबाही होला ?

अभद्र नेतालाई कस्तो कारबाही होला ?


विभिन्न कोणबाट आक्रमणको तारो बनाइनुभएकी राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेकपाकै एक केन्द्रीय सदस्यले समेत सामाजिक सञ्जालमा भद्दा टिप्पणी गरेपछि यतिबेला उक्त पार्टीभित्र छलफल र बहसको विषय बनेको छ । नेकपाका केन्द्रीय सदस्य देवशङ्कर पौडेलले राष्ट्रपति भण्डारीको नाम नलिईकन, तर स्पष्ट रूपमा बुझिने गरी तल्लोस्तरको टिप्पणी आफ्नो फेसबुकको भित्तामा गरेका हुन् ।

‘…उहिले महारानीले गगन सिंहको लहलहैमा भारदारमा भेदभाव गर्दा ‘कोतपर्व’ भयो, पछि महाराजले आँखा चम्काउँदा सण्डमुसण्ड नचाउँदा अनिष्ट भयो, अब महामहिम महारानीले जानी–नजानी छौँडा खेलाउँदाको परिणाम के होला ?’ गत भदौमा देवशङ्करले यस्तो व्यहोरा लेखेर सार्वजनिक गरेपछि पार्टीकै केही हितैषीको आग्रहमा उनले उक्त पोष्ट मेटाएका छन् । तथापि पार्टीको जिम्मेवार एक नेताले राष्ट्रप्रमुखविरुद्ध यसप्रकार गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा उचित कारबाही हुनुपर्ने आवाज नेकपाभित्र उठेको छ, तर पौडेलमाथि कस्तो कारबाही गर्ने भन्ने विषयले अहिलेसम्म आकार लिएको छैन ।

ज्ञातव्य छ, संविधानअनुसार राष्ट्रपति पद आलङ्कारिक हो र राजकाजमा राष्ट्रपतिले आलङ्कारिकबाहेक कुनै स्वतन्त्र भूमिका निर्वाह गर्न सक्दैनन् । पार्टीको केन्द्रीय सदस्य भइसकेका व्यक्तिलाई दैनिक राजकाजमा राष्ट्रपतिको कुनै भूमिका नरहने जानकारी हुँदैन भन्ने पनि ठानिएको छैन । तथापि पौडेलले यसरी राष्ट्रपतिको किन बद्ख्वाइँ गरेका हुन्, यो खोजीको विषय बनेको छ ।

देवशङ्करलाई यथोचित कारबाही नगर्दा पार्टीमा अराजकता र अनुशासनहीनताले प्रश्रय पाउने भन्दै एकथरी नेता तथा कार्यकर्ता उनीमाथि अनुशासनको कारबाही गर्नुपर्ने माग गर्दै छन् । तर, नेकपाकै अर्का एकथरी नेता–कार्यकर्ता भने देवशङ्करको बचाउ गर्न खोज्दै छन् । नेकपाले आफ्नो अनुशासनहीन नेतालाई कस्तो प्रकारको कारबाही गर्ने हो, प्रतीक्षाको विषय बनेको छ ।