काङ्ग्रेसको चियापान कार्यक्रम असोज २६ मा

काङ्ग्रेसको चियापान कार्यक्रम असोज २६ मा


नेपाली काङ्ग्रेसले जननायक बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको समयदेखि नै दशैँको अवसरमा आयोजना गरिँदै आएको चियापन कार्यक्रम यस वर्ष पनि गरिने औपचारिक जानकारी दिएको छ । यही असोज २६ गते कोजाग्रत पूर्णिमाका दिन अपराह्न १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम आयोजना गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।

पार्टी कार्यालयमा आयोजित सञ्चारकर्मी–साक्षात्कारको अवसरमा चियापान कार्यक्रममार्फत सद्भाव आदान–प्रदानको निरन्तरता हुने प्रवक्ता शर्माले बताए । विगतमा केन्द्रीय रूपमा मात्रै आयोजना गरिने दशैँ, तिहार र नेपाल संवत्का अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापान कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिएझैँ यसपटक पनि काठमाडौं उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यकाबाहिर ७४ जिल्लामा काङ्ग्रेस जिल्ला कार्यसमितिहरूको आयोजनामा सम्पन्न हुने जानकारी दिएको छ ।

सभामुख कृष्णबहादुर महराको राजीनामाका सम्बन्धमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता शर्माले ‘छानबिन प्रक्रिया नसकिँदासम्म’ भनेर समयावधि किटान गरी राजीनामा आउनु गलत रहेको भन्दै प्रस्ट र पूर्ण राजीनामा आउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको धारणा रहेको बताए । प्रवक्ता शर्माले सभामुख महरामाथि गम्भीर प्रश्न उठेकामा दुःखित र स्तब्ध भएको उल्लेख गर्दै भने, ‘जिम्मेवारी परित्याग गरेर छानबिनलाई निष्पक्ष ढङ्गले अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, तर छानबिन गर्न एक वर्ष लाग्यो भने एक वर्षसम्म कार्यवाहकको नेतृत्वमा जाने त ? सबै नागरिक कानूनका दृष्टिमा समान भएकाले यो प्रकरण पनि कानूनअनुसार नै अघि बढाइनुपर्छ ।’

प्रवक्ता शर्माले पार्टीको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अयिभान’को दोस्रो चरण प्रथम चरणको तुलनामा थप उत्साहपूर्वक र व्यवस्थित ढङ्गले सम्पन्न भएको दाबी पनि गरे । अभियानको दोस्रो चरण गत भदौ २४ गते जननायक बिपी कोइरालाको जन्मजयन्तीका दिन प्रारम्भ भई यही असोज ७ गते समापन भएको थियो ।

पार्टीका अन्तरिम संरचनाहरू निर्माण भएका कारण दोस्रो चरणको कार्यक्रमहरू अझ व्यवस्थित भएको जानकारी दिँदै उनले भने– ‘३३० प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधिको सक्रियता, जिल्ला कार्यसमितिको समन्वय, प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्व र सङ्घीय क्षेत्र, गाउँ–नगर–वडा–टोल तहसम्मको बृहत्तर सहभागिताले पार्टी पङ्क्तिमा थप जागरण अभिवृद्धि भएको छ ।’