शारीरिक सुगठनमा रजनीले जितिन् ऐतिहासिक पदक

शारीरिक सुगठनमा रजनीले जितिन् ऐतिहासिक पदक


इन्डोनेसियाको बाताममा सञ्चालन भइरहेको ५३औँ एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसीपमा नेपाली खेलाडी रजनी श्रेष्ठले द्वित्तीय स्थान प्राप्त गरेकी छिन् । रजनी ५५ केजी तौल समुहमा द्वित्तीय स्थान हासिल गरेकी हुन् । अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली महिला खेलाडी पहिलो सहभागिता हो ।

त्यस्तै, एसियन बडी–बल्डिङ महासंघले सञ्चालन गरेको विभिन्न ५४ विधामध्ये ३० वर्षभन्दा माथिको महिला शारीरिक सुगठन प्रतियोगितामा समेत रजनीले तृतीय स्थान हासिल गरेकी छिन् । पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गर्ने ३६ वर्षीय रजनी एक छोराकी आमा समेत हुन् ।

रजनीले ५५ के.जी. तौल समूहमा भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पार्दै रजत पदक जितेकी थिइन् । उक्त समूहमा भियतनामकी तोन होया खान लानले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेकी थिइन् ।

त्यस्तै, ३० वर्षभन्दा माथिको समूहमा पनि रजनी भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पार्दै कास्य पदक जितेकी थिइन् । सो समुहको प्रतिस्पर्धामा नुगुयेन बीच ट्रामले पहिलो र तोन होयाले दोश्रो स्थान हात पारेका थिए ।

२८ राष्ट्र सम्मिलित यस प्रतियोगितामा करिव ३५८ खेलाडी तथा करिव १६० अफिसियलहरूको सहभागिता रहेको थियो । त्यस्तै, एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोट्र्स महासंघ इलेक्टोरल कंग्रेसको बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोट्र्स महासंघको उपाध्यक्षमा दोश्रो पटक मनोनित गरेको थियो । त्यस्तै, सो बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले नेपालमा ५५औँ शारीरिक सुगठन तथा फिजिक्स स्पोट्र्स फिटनेस प्रतियोगिता आयोजनाको प्रस्ताव समेत कंग्रेसले अनुमोदन गरिएको थियो ।