विप्लव नेतृत्वको नेकपासम्बद्ध तीन विद्यार्थी नेतामाथि मुद्दा

विप्लव नेतृत्वको नेकपासम्बद्ध तीन विद्यार्थी नेतामाथि मुद्दा


नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा सम्बद्ध विद्यार्थी सङ्गठनका नवलपरासी जिल्ला संयोजकसहित तीन नेतालाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुर्व्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाई छ ।

बताइएअनुसार गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध सोमबार मुद्दा दायर गरी अनुसन्धान थालिएको हो । जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार कपिलवस्तु शिवराज नगरपालिका–१ निवासी २२ वर्षीया भण्डारी नवलपरासीका जिल्ला संयोजक हुन् भने कैलाली लम्कीचुहा नगरपालिका–१ घर भएका २७ वर्षीय विक रुपन्देहीका जिल्ला सदस्य हुन् । यसैगरी रुकुमपश्चिम सानोभेरी गाउँपालिका–९ घर भएका २३ वर्षीय खड्का अखिल क्रान्तिकारी चितवनका पूर्वजिल्ला सदस्य हुन् ।

शुक्रबार सुनवल–४ तुरिया पुलमा शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले जाँच गर्न खोज्दा प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमै बाधा पुऱ्याएपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, नेकपाकै अर्का एक नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बागलुङ गल्कोट नगर इञ्चार्ज सुदर्शन नेपालीलाई असोज १३ गते उनकै गाउँबाट पक्राउ गरेको हो ।

गल्कोट नगरपालिका–११ मझुवा का २८ वर्षीय नेपालीले स्थानीय व्यवसायीलाई डर धम्की देखाएर चन्दा असुली गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जनाएका छन् ।