नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते

नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते


क्रियटिभ ह्याण्ड्सले ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना गर्दै आएको नेपालगन्ज म्याराथन २०१९ को तयारी तिब्र पारिएको छ । नेपालगन्ज म्याराथनको यो पाँचौं संस्करण हो ।

दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना थालिएको हो । बिभिन्न सरोकारवालासँगको परामर्शपछि हरेक मंसिरको पहिलो साताको शनिबार नेपालगन्ज म्याराथन आयोजना गर्ने निस्कर्षमा पुगेको आयोजकले जनाएको छ ।

ट्राफिक व्यवस्था मिलाउन सहज हुने भएकाले शनिबार दिनलाई रोजिएको हो । त्यसैले यसबर्ष मंसिर ७ गते नेपालगन्ज म्याराथनको पाँचौं संस्करण हुनेछ । नेपालगन्ज म्याराथनको पाँचौं संस्करण भव्य गराउन व्यवस्थापन चुस्त र पुरस्कार राशीमा बृद्धि गर्ने तयारी गरिएको छ । पुरस्कार राशी भने केहि समयपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ ।

यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।

खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् ।

त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन् । नेपालगन्ज र कोहलपुरलाई भावनात्मक रुपमा अझै जोड्नका लागि पनि यो म्याराथन महत्वपूर्ण हुने विश्वास हामीले लिएका छौं ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता बनेका थिए ।

महिला हाफ म्याराथनमा नेपालकी कान्छीमाया कोजु दोश्रो संस्करणमा विजेता भएकी थिइन् । यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गरिनेछ । नेपालगन्ज म्याराथनलाई बर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजकले दाबी गरेको छ ।