साउदी राजाका अङ्गरक्षकको गोली हानी हत्या

साउदी राजाका अङ्गरक्षकको गोली हानी हत्या


साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल–फागमलाई आफ्ना साथीको घरमा गएका समय गोली हानी हत्या गरिएको छ । साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो । मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् ।

जेद्दाहस्थित साथीको घरमा गएका राजाका अङ्गरक्षकसँग चर्को भनाभनपछि एक्कासी बाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका समाचारमा जनाइएको छ ।

हत्याराले आफ्नै भाइ, राजाका अङ्गरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाउँदा सख्त घाइते भएका त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

झडपबारे सूचना पाएको प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा पाँच जना प्रहरीसमेत घाइते भएका थिए। झडपमा अङ्गरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ ।

उक्त स्थानमा भएको झडपमा घाइते बनेका अन्य सबै सातजनाको अवस्थास्थिर रहेको बताइएको छ । सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने प्रवक्ताले बताए । अल–फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अङ्गरक्षक थिए ।