के हो सि जिनपिङ विचारधारा ?

के हो सि जिनपिङ विचारधारा ?


■ कृष्ण भुसाल

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङ विश्वका शक्तिशाली राष्ट्रप्रमुखमध्यका एक हुन् । सन् २०१७ अक्टोबरमा चीनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय नेशनल कंग्रेसले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको सि जिनपिङ विचारधारा’ (Xi Jinping Thought On Sociolism With Chinese Characteristics For a New Era) लाई पारित गऱ्यो, जसलाई नै सि जिनपिङ विचारधारा भनेर बुझिन्छ । योसँगै माओत्सेतुङ र देङ सियाओ पिङ पछि आधारभुत सिद्धान्त स्थापित गर्ने तेस्रो नेताको रूपमा सि जिनपिङ स्थापित भएका छन् ।

सि जिनपिङले उक्त विचारधारामा चिनियाँ विशेषतासहितको समाजवादलाई व्यापक फ्रेमवर्कको साथ नयाँ ढंगले वर्णन गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ कंग्रेसले जिनपिङको उक्त विचारधारालाई आफ्नो विधानमा समावेश गरी उक्त विचारधारा स्थापित गरेसँगै चिनियाँ कम्युनिस्ट पार्टीको अबको मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद, लेनिनवाद, माओ विचारधारा, देङ सियाओपिङ विचारधारा र सि जिनपिङ विचारधारा’ हुनेछ ।

सि जिनपिङको विचारधाराले मुख्यतः समृद्ध एवं नियन्त्रित समाजको निर्माण, गरिवी उन्मुलन तथा ग्रामीण क्षेत्रको विकास योजनामा गहन सुधार, कानुनी शासनको अधिनमा रही राज्य सञ्चालन, पार्टी अनुसासनमा कडाई जस्ता कुरामा जोड दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीलाई जनताप्रति बढी उत्तरदायी बनाइ जनचाहना मुताविक पार्टी सञ्चालन गरी नेतृत्वलाई हरेक क्षेत्रमा उपस्थित जनाउन यो विचारधाराले निर्देशित गरेको पाइन्छ ।

विज्ञान र प्रविधिमा आएको नवप्रवर्तनलाई थप प्रोत्साहित र आत्मसात गर्दै पर्यावरणीय संरक्षण, आपसी समन्वय गरी हरित विकासको अवधारणालाई यस विचारधाराले मुख्य जोड दिएको छ । समाजवादका मुख्य मान्यतालाई स्थापित गर्न मार्क्सवाद, समाजवाद र साम्यवादलाई चिनियाँ विशेषतासँग समावेश गरी राष्ट्रिय समृद्धि र दिगो विकास गर्न सिले जोड दिएका छन् ।

सि जिनपिङको विचारधाराले विकासको प्राथमिक उद्देश्य जनताको जीवनस्तरमा सुधार र सुदृढीकरणलाई लिएको छ । राष्ट्रिय सुरक्षालाई अभिन्न पाटोको रुपमा लिएको उक्त विचारधाराले चिनियाँ जनमुक्ति सेनाको निरपेक्ष नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टीमा रहनेछ अर्थात चिनियाँ जनमुक्ति सेना, चिनियाँ कम्युनिस्ट पार्टीको अधिनस्त रहनेछ भन्ने कुरालाई स्थापित गरेको छ । साथै, एक देश दुई प्रणालीको अन्त्य गर्दै एक चीन नितीलाई थप जोड दिई हङकङ र मकाउमाथि राजनीतिक प्रभाव थप बढाउँदै ताइवानलाई आफ्नो मुलुकमा गाभ्ने कुरामा उनको विचारधाराले जोड दिएको छ ।

सि जिनपिङको विचारधाराले मुख्यतः समृद्ध एवं नियन्त्रित समाजको निर्माण, गरिवी उन्मुलन तथा ग्रामीण क्षेत्रको विकास योजनामा गहन सुधार, कानुनी शासनको अधिनमा रही राज्य सञ्चालन, पार्टी अनुसासनमा कडाई जस्ता कुरामा जोड दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीलाई जनताप्रति बढी उत्तरदायी बनाइ जनचाहना मुताविक पार्टी सञ्चालन गरी नेतृत्वलाई हरेक क्षेत्रमा उपस्थित जनाउन यो विचारधाराले निर्देशित गरेको पाइन्छ ।

शान्तिपुर्ण अन्तर्राष्ट्रिय वाताबरण निर्माण गर्न चिनियाँ जनता र विश्वभरका जनताको एउटै लक्ष्य तथा उद्देश्य हुने कुरालाई केन्द्रित गर्दै विश्व पर्यावरणिय सुरक्षा, उर्जा संरक्षण, वातावरणीय संरक्षणलाई आफ्नो मुख्य विचारको रूपमा स्थापित गरेका छन् ।

सन् २०१२ मा सि जिनपिङ चीनको राष्ट्रपतिमा छनोट भएपश्चात् उनले अघिसारेको आर्थिक समृद्धि, भ्रस्टाचार नियन्त्रण जस्ता कार्यक्रम साथै बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) जस्ता महत्त्वाकांक्षी योजना आदिले गर्दा विश्वको ध्यान चीनतर्फ केन्द्रित रहँदै गर्दा सिले अघि सारेको चिनियाँ विशेषतासहितको समाजवादको विचारधाराले उनलाई विश्व राजनीतिमा एक वैचारिक एवं शक्तिसाली राष्ट्रप्रमुखको रुपमा स्थापित गरेको छ ।

सन् १९४९ मा चीनमा भएको जनवादी क्रान्तिपश्चात् गृहयुद्धले थिलोथिलो पारेको चीनलाई एक ढिक्का बनाई समृद्धिको बाटोमा हिँडाउन माओत्सेतुङले गरेको योगदान, साथै सांस्कृतिक क्रान्तिको असफलतापछि चीनलाई अर्थिक एवं सामाजिक रुपान्तरणमार्फत नयाँ मोडमा लैजान देङ सियाओ पिङले गरेको योगदानको कारण चीन आज विश्व जगतमा एक शक्तिशाली राष्ट्रको रूपमा स्थापित भएको छ । त्यस सँगसँगै वर्तमान राष्ट्रपति सि जिनपिङले आगामी सन् २०५० सम्म चीनलाई संसारकै समृद्ध एव् समुन्नत समाजवादी मुलुक बनाउन अघिसरेका छन् ।

पार्टीको १९औँ कंग्रेसबाट आफ्नो विचारधारा स्थापित गरेसँगै जनवादी गणतन्त्र चीनमा तीनवटा वैचारिक युग स्थापित भएका छन्, ती हुन्– माओत्सेतुङ युग, देङ सियाओपिङ युग र सि जिनपिङ युग । ‘नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवाद’ अर्थात् सि जिनपिङ विचारधाराले पार्टीबाट बैधानिकता पाएसँगै चीन वैचारिक, आर्थिक र सैन्य शक्तिको रूपमा विश्वको अग्रणी राष्ट्र बन्न चाहेको कुरा स्पष्ट देखिन्छ ।

बेल्ट एण्ड रोड इनिसियटिभ अर्थात ‘बिआरआई’मार्फत विश्वका मानवजातिको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सि जिनपिङको दुरदर्शिताले उनलाई एउटा अब्बल विश्वनेताको रुपमा हेरिन थालिएको छ । आपसी हितको लागि संयुक्त प्रयास, न्यायोचित र समानतामुलक विश्व ब्यवस्थाको लागि, मानवजाति तथा पृथ्वीको सुरक्षाको लागि सिले अघिसारेको हरित विकासको अवधारणाले चीनको मात्र नभई समग्र विश्व जगतको हित चाहेको प्रष्ट देखिन्छ । विश्वको साझा समृद्धि हासिल गर्न कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी र उपलब्धिमा साझा स्वामित्वको अवधारणाले सि जिनपिङको विचारधारालाई विश्व ब्यवस्थामा नयाँ कोशेढुंगाको रुपमा स्थापित गरेको छ ।