देउवाले किन गरे ‘अरुसँग लड्न सक्ने पार्टी’ बनाउन आह्वान

देउवाले किन गरे ‘अरुसँग लड्न सक्ने पार्टी’ बनाउन आह्वान


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैंसँग लड्ने नभई अरुसँगै लड्न सक्ने पार्टी बनाउन पार्टीका सबै लाग्नुपर्ने धारणा अघिसारेका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आइतबार बनेपामा आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा मन्तव्य दिने क्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताएका हुन् ।

‘झगडा गर्ने पार्टी नबनाऔँ, पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?’– देउवाको प्रश्न थियो । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको दाबी गर्दै उनले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए ।

यसरी गुटका कारण दल थला परेको भनी सभापति देउवाले गुनासो गर्दैगर्दा सोही कार्यक्रमबीच कृष्णप्रसाद सिटौलाले नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्ने भन्दै उनले देउवाको कार्यशैली र क्षमतामाथि ब्यङ्ग्य प्रहार गरे । सत्तारुढ दलले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजिएको आरोप पनि उनले लगाए ।

यसरी पार्टीका शीर्ष नेतृत्वपङ्क्तिबीच गुटगत घोचपेच चलिरहँदा स्थानीय नेता–कार्यकर्ता भने त्यसबाट मनोरञ्जन लिइरहेका थिए ।

मीनेन्द्रमाथि आक्रमणको प्रयास !

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा गएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ पुगेका विज्ञप्तिमा जनाइएको छ ।