‘साग’का लागि टेबुलटेनिस खेलाडी छनोट

‘साग’का लागि टेबुलटेनिस खेलाडी छनोट


नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबुलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबुलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।

छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन् । महिलातर्फ प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, नेपाल आर्मीकी रविना महर्जन र दीक्षा तामाङ तथा एपिएफकी सिका सुवाल छनोट भएका छन् ।

पुरुषतर्फ शीर्ष बरियताका खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण छनोट प्रतियोगितामा सहभागी हुन पाएनन् । श्यान्टुले शीर्ष ५ मा छनोट भएका सुनिलसँग पुनः छनोट प्रतियोगिता खेल्न अवसर भने पाउने जनाइएको छ ।

यसैबीच भारतले तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदानमा आज (१२ असोज) भएको फाइनलमा भारतले बङ्गलादेशलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि भारतले पहिलो पटक जितेको हो । यसअघिको दुई संस्करणको उपाधि नेपालले जितेको थियो । भारतका लागि विक्रमप्रताप सिंह र रविबहादुर रानाले एक/एक गोल गरेका थिए । बङ्गलादेशका लागि एसिन अर्फातीले गोल गरेका थिए । खेलको २३औँ मिनेटमा दुबै टोलीका खेलाडीले अभद्र व्यवहार गरेपछि भारतका गुरकिरत र बङ्गलादेशका मोहम्मद फाहिमले रातो कार्ड पाएका थिए ।