नारिताबाट वाइडबडीको चार्टर उडान ‘फूल अकुपेन्सी’मा काठमाडौं

नारिताबाट वाइडबडीको चार्टर उडान ‘फूल अकुपेन्सी’मा काठमाडौं


■ एस. क्षेत्री

काठमाडौं-ओसाका सिधा उडान सुरु गरेको नेपाल वायुसेवा निगमलाई सिट क्षमताअनुसार यात्रु पुऱ्याउन हम्मे परिरहेका बेला नारिता (जापान)बाट चार्टर उडान फूल अकुपेन्सीमा काठमाडौं आएको छ । सुमेघ टुर्स एण्ड ट्राभलले शुक्रबार नारिता-काठमाडौं चार्टर उडान गरेको थियो । चार्टर उडानमा निगमको वाइडबडी ३३०-३०० जहाज फूल अकुपेन्सी भएको हो ।

सुमेघ नेपालमा उडान गर्ने विभिन्न अन्तर्राष्ट्रिय कम्पनीको टिकट धेरै बिक्रीमा अवार्ड समेत पाइसकेको ट्राभल एजेन्सी हो । कम्पनीको अनुभवकै कारण चार्टर उडानमा वाइडबडीको २ सय ७४ वटै सिट भरिएको थियो ।

कम्पनीका अनुसार बिहीबार काठमाडौं-नारिता जाने यात्रुको संख्या ७७ रहेको थियो । कम्पनीको पहिलो चार्टर उडानमा उर्जामन्त्री वर्षमान पुनसहित नेपाली र जापानी नागरिक थिए ।

अब नारिता-काठमाडौं दोस्रो चार्टर पनि हुँदैछ । दोस्रो चार्टर उडानका लागि पनि जापानबाट आउँदा पूर्ण रुपमा टिकट बुकिङ भइसकेको छ । कम्पनीका अनुसार अक्टोबर दुई तारिखमा काठमाडौंबाट जाँदा एक सय ९३ यात्रु रहेका छन् भने नारिताबाट आउँदा दुई सय ७४ यात्रु रहेका छन् । चार्टर उडानका लागि सुमेघ र निगमबीच करिब दुई महिना अगाडी काठमाडौं-नारिता-काठमाडौं चार्टर उडानका लागि सम्झौता भएको थियो ।