पर्यटन वर्ष २०२० र ‘दुषितालय’ !

पर्यटन वर्ष २०२० र ‘दुषितालय’ !


  • दामोदर पौडेल

नेपालले पर्यटन वर्ष २०२० मनाउँदै छ भनी विभिन्न देशमा सन्देश गएको रहेछ । ५–६ जना युरोपेली तथा भारतीय पर्यटकहरू पनि छुट्टी मनाउन भनी सल्लाहसाथ नेपाल घुम्न निस्किएछन् । नेपालको एयरपोर्टमा अवतरण हुनासाथ पर्यटन मन्त्रालयबाट फूल, अबिर, मालाहरू लगाई स्वागत गरिएछ । पर्यटकहरू दङ्ग परी फूलमाला लगाएर आफू बस्ने गन्तव्यतर्फ लागेछन् ।

भोलिपल्ट तीन जिल्लाको उपत्यका काठमाडौं घुम्ने योजना बनाई १–२ जना नेपाली गाइड लिएर गएछन् । घुमघाम गर्दागर्दै उनीहरूलाई शौच लागेछ । ती पर्यटकले एक बटुवालाई सोधेछन्– यहाँ शौचालय कता छ ? प्रश्न सुनेर बटुवाले अनौठो मानेछन्, तर कुनै उत्तर पाएनन् पर्यटकले । पुनः अलि पर उभिएको एक ट्राफिक प्रहरीलाई सोधेछन्, ‘प्रहरी भाइ, यस ठाउँमा शौचालय गर्ने ठाउँ कहाँ छ ?’ उनको जवाफमा प्रहरीले जवाफ दिएछन्, ‘मलाई थाहा छैन, हामी त बिहान ६ घन्टा ड्युटी आउनुभन्दा पहिले नै सौच कार्य गरेर आएका हुन्छौँ, बीचमा सौच गर्नुपर्ने हामीलाई माथिबाट नै अनुमति छैन ।’

यस्तैमा नेपाली गाइड आइपुगेछन् र शौचालय देखाइदिँदै भनेछन्, ‘हाम्रो नेपालमा शौचालय कहाँ भनेर सोधिरहनै पर्दैन, नाकले सुँघेर थाहा पाउनुपर्छ । ’ हुन पनि हो हाम्रा शहरका बाटा हुन् वा मन्दिर तथा अस्पताल, सबै ठाउँमा सुँधेर नै शौचालय पत्ता लगाउन सकिन्छ । हामीलाई खासै सर्वजनिक शौचालय चाहिँदैन पनि । एकान्त ठाउँमा कुनाकाप्चा परेको ठाउँ नै हाम्रा सार्वजनिक शौचालय हुन् । हाम्रा तीन शहरका खुला ठाउँमा कहाँ शौच गर्न हुने या नहुने थाहा पाउन पनि खासै गाह्रो छैन । नाकले नथाम्ने गरी शौचको गन्ध आएको थलो (ठाउँ)मा सौच गरे हुन्छ । यदि कुनै मठ–मन्दिर, बाटोपर्खाल यस्तै कुनै ठाउँमा यहाँ शौच गर्न मनाही छ, लेखिएको छ भने त्यहाँ पनि सौच गरे हुन्छ ! बटुवाहरूले शौच गर्दा दुर्गन्ध फैलिएपछि वरिपरि बस्नेहरूले यस्तो मनाहीको सूचना सौच तथा फोहोर फ्याल्ने ठाउँ हो भनी शहरवासीलाई दिएको निमन्त्रणा पनि हो ।

शहरका खुला शौचालयका रूपमा प्रयोग भइरहेका कुनाकाप्चा दुर्गन्धित हुनु अस्वाभाविक होइन । तर, यीभन्दा भयानक दुर्घन्धित छन् स्थानीय निकायहरूले चलाएका सशुल्क शौचालयहरू । भनिन्छ यस्ता शौचालयहरूमा सौच गर्दा ५–१० रुपैयाँ लिइन्छ । तपाईं–हामीलाई त बानी परिसक्यो, तर ती पर्यटकलाई कसरी बानी पार्ने ? हामीहरूलाई त पिनास भएको रहेछ भने पनि फाकफुक पनि गर्नुपर्दैन, रु. ५ ले पुग्छ । तिनीहरूलाई त पिनास भन्ने नै थाहा छैन होला ।

यस्ता शौचालय अरू पनि थप्ने रे, त्यो पनि पर्यटक बढी भित्र्याउनका लागि ! पर्यटन मन्त्रालयबाट नै बनाउने निर्णय गरेका छन् भन्ने सुनिएको छ । यदि पर्यटकहरूले बुझे भने वर्षौं पुरानो पिनास रोग निको हुन्छ भनेदेखि किन पर्यटकको घुइँचो नलागोस् ? त्यसरी आएका पर्यटकले कोही राजनीतिज्ञका बारेमा बुझ्न मनलागि गएछन् भने तिनलाई पनि सार्वजनिक शौचालय देखाएर सुँघाएर भने हुन्छ– ‘यस्तै छ हाम्रो राजनीति पनि । ’ यो बयानसँग केन्द्रीय स्थानिय सरकारवासी सहमत छन् कि असहमत ? यदि असहमत छन् भने हाल भएका सार्वजनिक शौचालयलाई दुर्गन्धलयबाट परिणत गरी शौचालय नै बनाऔँ । अनि मात्र पर्यटक मन्त्रालयको पर्यटन भित्र्याउने सोच र ट्राफिक प्रहरीको ड्युटी टाइम बढाउन पहल गर्ने हो कि ! यसो गरे कसो होला ?