स्वर्णिम बचत खाता भएका बालकलाई उपचार खर्च उपलब्ध

स्वर्णिम बचत खाता भएका बालकलाई उपचार खर्च उपलब्ध


■ हेमशंकर सिंह, महुली (सप्तरी)

कामना सेवा विकास बैंकको महुली शाखाले एक पाँच वर्षीय बालकलाई शल्यक्रियावापत लागेको रकम उपलब्ध गराएको छ ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर १ जण्डौल बस्ने ललितकुमार साहका पाँच वर्षीय छोरा राज साहको शल्यक्रिया वापतको रकम बैंकले उपलब्ध गराएको हो ।

स्वर्णिम बचत खाता खोलेवापत उक्त बैंकले बालकको शल्यक्रियामा लागेको ५२ हजार ७ सय ४९ रुपैयाँ भुक्तान गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंकले सो रकम हस्तान्तरण गरेको छ ।

बालकका बाबु साहका अनुसार बच्चाको नाममा बैंकमा एक हजारको स्वर्णीम बचत खाता खोलेवापत उक्त खातामा दुर्घटनावापत सात लाख रुपैयाँ र प्रत्येक वर्ष एक लाखसम्मको बिरामी उपचारको सुविधा रहेकाले सोहीबमोजिम उपचार खर्च प्राप्त भएको हो ।

सोही योजनाअन्तर्गत बालकको पिसाबनलीमा आएको समस्याको शल्यक्रिया विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको हो ।

बैंकका प्रबन्ध निर्देशक मानबहादुर चौधरीका अनुसार एक हजारको स्वर्णीम खाता खोल्ने ग्राहकलाई प्रत्येक वर्ष बैंकले एक लाखसम्मको उपचार बिमा, दुर्घटनामा मृत्यु वा क्षति भएको अवस्थामा सात लाखसम्म बिमावापत रकम उपलब्ध गराउँदै आएको छ ।