रुसद्वारा २६० उत्तर कोरियाली माझी पक्राउ

रुसद्वारा २६० उत्तर कोरियाली माझी पक्राउ


रुसले सुदूरपूर्वी तटीय क्षेत्रमा अनधिकृतरूपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो ।

उत्तर कोरियाका २६२ जना माझीलाई पाँचवटा मोटरबोटसहित पक्राउ गरिएको छ । रुसी समाचार संस्थाले उत्तर कोरियाली माझीहरूले कुनै प्रतिरोध नगरेका र उनीहरूलाई सुदूरपूर्वी नाखोट्का बन्दरगाहमा राखिएको जनाएको छ ।

पक्राउ परेका माझीबाट माछा मार्न प्रयोग हुने ३० हजारभन्दा बढी चारो पनि बरामद गरिएको छ । गत साता रुसी तटरक्षकको उत्तर कोरियाली माझीहरूसँग सामान्य झडप पनि भएको थियो ।

जापान समुद्रमा माछा मार्ने अधिकारका विषयमा रुस, उत्तर कोरिया र जापानबीच नियमितझैँ झडप हुने गरेको छ । जुलाईमा उत्तर कोरियाले १५ जना रुसीसहित एक माछा मार्ने डुंगा नियन्त्रणमा लिएको थियो ।