एनआरएनए अध्यक्षका लागि कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षका लागि कुल आचार्यको उम्मेदवारी घोषणा


■ राजन घिमिरे

गैरआवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान उपाध्यक्ष हुन् कुल आचार्य । काठमाडौंमा अक्टोबर १५ देखि १७ सम्म आयोजना हुन लागेको नवौं अधिवेशनका लागि अध्यक्षमा आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आगामी कार्यकाल (२०१९–२०२१) का लागि अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

‘मैले विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकमा पुगेर राय तथा सुझाव लिएपछि संघको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थिएँ’– आचार्यले घटना र विचारसँग भने, ‘अग्रज, साथीभाइ र सबैबाट साथ–सहयोग पाउने विश्वास लिएको छु ।’

आचार्यले १०बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रवासमा रहनुभएका नेपाली र गैरआवासीय नेपाली संघसँग आवद्ध रहनुभएका नेपालीहरू सबैको सीप र क्षमतालाई नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक कार्ययोजनासहित अघि बढ्ने जानकारी दिए ।

आचार्यले भने ‘मैले नजिकबाट नियालिरहेको वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर पुऱ्याउने छु ।’

अध्यक्षका उम्मेदवार आचार्यले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पर्यटन प्रवर्द्धनसम्बधी कार्यक्रम विविध कार्यक्रमहरू बनाएर मात्र नभई वास्तविक रूपमा नै पर्यटक भित्र्याउन सबै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, संघको तर्फबाट हरेक मुलुकमा सम्बन्धित एनसीसीको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरी नेपाल सरकार र पर्यटन बोर्डसँग समन्वय गरी पर्यटक भित्र्याउनेतर्फ आफू लाग्ने बताए ।

उनले सबैको चासो र सबैभन्दा बढी चर्चामा रहेको संसदीय प्रक्रियामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावनाअनुरुप निष्कर्षमा पुऱ्याउन निर्णायक पहल गर्ने दाबीसमेत गरे । ‘नेपाली नागकरिकको हैसियतले गैरआवासीय नेपाली नागरिकता पाएपछि हाम्रो सम्पत्ति सुरक्षित हुनुपर्छ भन्ने कुरालाई कानुनी रूपमा नै स्थापित गराउन दिलोज्यानले लाग्ने छु ।’

संघका पूर्वअध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एन्ड वियोन्ड’ अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिबद्धतालाई पनि कुल आचार्यले जोड दिएका छन् । संघका एनसिसी एवम् सदस्यहरूद्वारा गरिने कल्याणकारी कामहरु एनआरएनए फाउन्डेसनमार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए । ‘सबैभन्दा ठूलो कुला विदेशमा हुर्किरहेको दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, साहित्य, सभ्यता, र संस्कृतिसँग जोड्नेतर्फ म उच्च प्राथमिकता दिनेछु ।’