राष्ट्रपति भ्रमणको चर्चा र शासकीय मृगतृष्णा !





छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको विषयले यतिबेला नेपाली राजनीतिक तहलाई तरङ्गित पारिरहेको छ । विश्वमञ्चमै आफ्नो प्रबल उपस्थिति तथा शक्ति विस्तारका कारण पछिल्लो समय कोण–कोणबाट चर्चामा रहँदै आएको उत्तर–छिमेकी मुलुकका शीर्ष पात्रबाट २३ वर्षको अन्तरालमा हुन लागेको औपचारिक भ्रमण भएकैले मात्र राष्ट्रपति सीको सम्भावित नेपाल आगमन चर्चाको विषय बनेको होइन । यसप्रति चासो चुलिनुको आयाम विविध छन् ।

पुनः ध्रुवीकरणको चपेटामा पर्न लागेको विश्व–राजनीतिक परिवेशमा छिमेकी तथा खास–खास मित्रराष्ट्रहरूको नेपालप्रतिको चासोलाई मध्यनजर गरेर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रसङ्गलाई हेर्नु यतिखेर ज्यादा सान्दर्भिक हुनेछ । सीको आगमनले नेपालको विकास र समृद्धिको सवालमा के–कसरी अनि कति फरक पार्छ भन्ने सवाल त उसै पनि ज्वलन्त छँदै छ । किनकि, गत भदौ २२ मा नेपाल आएका चिनियाँ विदेशमन्त्रीको भ्रमणयता राष्ट्रपति सीको नेपाल भ्रमणको चर्चा यसरी चुलिएको छ, मानौँ– सीको आगमन नेपालको निम्ति ‘पारसमणि’ नै साबित हुनेछ ।

यही परिवेशमा दुई देशका ‘कम्युनिस्ट पार्टी’को संयुक्त आयोजनामा सम्पन्न ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रम’ शीर्षकको गोष्ठी चर्चामा छ । ‘समृद्धिको साझा आधार पहिल्याउने पहलकदमी आरम्भ भएको’ रूपमा नेकपासम्बद्ध नेताहरूले गोष्ठीको व्याख्या र प्रशंसा गरेका छन् । यसको प्रतिक्रियामा प्रमुख प्रतिपक्षी दलका नेताहरूले देशमा शासन गरिरहेको दल नै चिनियाँ कम्युनिस्ट पार्टीको ‘भ्रातृ संस्था’ बन्न पुगेको, विदेशी मुलुकको नीतिलाई हुबहु अङ्गीकार गरेर देशकै स्वतन्त्र अस्तित्वमाथि धावा बोल्ने चेष्टा गरेकोजस्ता गम्भीर आक्षेप लगाएका छन् । यसरी उठाइएका विपक्षी–आवाज पूरै उपेक्षा गर्नलायक पनि छैनन् ।

परराष्ट्रनीतिको सवालमा कमजोरी छताछुल्ल भइरहेकै बेला चीनप्रतिको आशा, आग्रह र मृगतृष्णा बढाइरहेको छ नेपाल सरकार । सरकारका हर्ताकर्ताहरू निर्धक्कतापूर्वक भाषण–अभिव्यक्ति दिइरहेका छन् कि बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अवधारणाका ‘नायक’ राष्ट्रपति सीको आगमनले नेपालको समृद्धिमा कायापलट नै गर्नेछ ! समृद्धिको साझा आधार पहिल्याउन सञ्जीवनी साबित हुनेछ सी जिनपिङको भ्रमण !!

नेपालले आफ्नो स्पष्ट र स्थिर विदेश नीति तय गर्न नसकेको र यसले मुलुकलाई दूरगामी हिसाबमा कमजोर तुल्याउँदै विघटनकै दिशातर्फ लगिरहेको भन्नेसम्मका चिन्ता–चिन्तन तथा व्याख्या–विश्लेषण पछिल्लो चरणमा निकै गरिन थालिएका छन् । दलपिच्छेका दृष्टिकोण, देशकेन्द्रित नभई दलकेन्द्रित अवधारणामा आधारित छिमेकी सम्बन्ध, सरकार परिवर्तनसँगै बदलिने विदेशनीति, पद तथा शक्ति आर्जनका लागि बाह्य शक्तिकेन्द्रको चाकडी–चाप्लुसी गर्न नहिच्किचाउने नेतागण, दलीय निर्देशनका आधारमा अन्ध–व्यवहार प्रकट गर्ने कार्यकर्ताको पङ्क्ति, स्वार्थप्रेरित चिन्तनमा मग्न बौद्धिक तप्का र देशप्रेमलाई मनमै दमित तुल्याएर फगत जीवन–गुजाराको निम्ति अहोरात्र लागिपर्न अभिशप्त नागरिक हिस्साका कारण एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको निम्ति अपरिहार्य ‘विदेश नीति’समेत ख्याल–ख्यालको विषय बन्न पुगेको महसुस गरिएकै कुरा हो । यही चरित्रका कारण नेपालले आफ्ना निकट छिमेकी एवम् मित्रराष्ट्रहरूको समेत विश्वास गुमाएको अनुभूति बेला–बेलामा हुने गर्दछ । दुईतिहाइको कथित ‘कम्युनिस्ट’ सरकार शासन–सत्तामा हाबी भएपछि यसका शीर्ष पङ्क्तिका नेताका सोच, शैली र व्यवहारप्रति सबैभन्दा नजिकको मित्रदेश भारतदेखि महाशक्ति देश अमेरिका र चीनसमेत सशङ्कित हुन पुग्नु यसैको द्योतक हो ।

नितान्त फरक पृष्ठभूमिबाट गुज्रिँदै जबर्जस्ती ‘एकीकृत’ हुन पुगेको सत्तारुढ दलभित्र जारी गुट–उपगुटबीचको हानथाप तथा दुईध्रुवीय साङ्गठनिक ढाँचाका कारण अघोषित तवरले शक्ति–सङ्घर्ष चर्किएको मात्र नभई महत्वपूर्ण बाह्य मामलामा शीर्ष नेताबाटै अत्यन्त गम्भीर प्रकृतिका फरक धारणा सार्वजनिक हुने गरेबाट सत्तासीन दलले मात्र नभई देशले नै विश्व समुदायको दृष्टिमा विश्वास गुमाउँदै छ । यसरी परराष्ट्रनीतिको सवालमा कमजोरी छताछुल्ल भइरहेकै बेला चीनप्रतिको आशा, आग्रह र मृगतृष्णा बढाइरहेको छ नेपाल सरकार । सरकारका हर्ताकर्ताहरू निर्धक्कतापूर्वक भाषण–अभिव्यक्ति दिइरहेका छन् कि बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अवधारणाका ‘नायक’ राष्ट्रपति सीको आगमनले नेपालको समृद्धिमा कायापलट नै गर्नेछ ! समृद्धिको साझा आधार पहिल्याउन सञ्जीवनी साबित हुनेछ सी जिनपिङको भ्रमण !! परनिर्भरताको यस्तै प्रवृत्तिले मुलुक अधोगतिमा भासिएको चेत अझै नखुल्नु विष्मयकारी विषय हो ।

त्यसो त, छिमेकी तथा मित्रदेशहरूको विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने कुरामा आजको परिवेशमा विवाद गरिरहनुपर्दैन । तर, कसरी तथा के गर्दा मुलुकले मित्रराष्ट्रहरूलाई नचिढ्याईकन अधिकतम लाभ हासिल गर्न सक्छ त भन्ने सन्दर्भमा गहन अध्ययन, छलफल एवम् तयारी हुनुपर्छ र यसकै निम्ति आवश्यक पर्ने हो प्रस्ट र ठोस विदेश नीति पनि, जो हाम्रो सन्दर्भमा अझै पनि आकाशकै फल बनेर रहेको छ । तैपनि आशा गरौँ, मित्रराष्ट्र चीनका राष्ट्रपतिको चिरप्रतीक्षित नेपाल भ्रमण हुनेछ र उक्त भ्रमणसँगै नेपाल–चीन सम्बन्धले साँच्चै आर्थिक, अर्थ–राजनीतिक एवम् अर्थ–रणनीतिक क्षेत्रमा नयाँ दिशा अवलम्बन गर्नेछ ।

प्रतिक्रिया