बाहुन-क्षेत्रीको सत्ता मुर्दावाद !

बाहुन-क्षेत्रीको सत्ता मुर्दावाद !


■ आनन्दराम पौडेल

मधेसी भएकैले मलाई
काठमाडौंको नेवार घरबेटीले
हेपेर बोल्यो,
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !

नेवार भएकैले मेरा बालाई
जागिरको उच्चतहबाट रिटायर भएपछि
सरकारले थप नियुक्ति दिएन
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !

जनजाति भएकैले मलाई
नापीको मधेसी हाकिमले
जग्गा पास गर्दा घुस माग्यो
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !

सार्की भएकैले म
पल्लो टोलको त्यो कामीले
मैले छोएको खाएन
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !

गरिब मधेसी भएकैले म
आफ्नै मधेसी लोग्नेले मेरो छोरीलाई
जिउँदै जलाएर माऱ्यो
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !

जनजाति भएकैले मेरा बा
बेलायती लाहुरे भए
त्यही पैसाको मातले म बिग्रेँ
तर, मेरै घरको भान्से बाहुनको छोराले
पढेर जागिर खायो
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !

जनजाति÷मधेसी भएकैले म
तगडा–तगडा क्षेत्री–बाहुनलाई नबोकाएको
सरकारी जागिरको भारी बोकाइयो मलाई
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !

मधेसी÷जनजाति भएकैले
कहिले प्रधानन्यायाधीश
त कहिले उपप्रधानमन्त्री जस्तो
जोखिमपूर्ण कामको भारी बोकाइयो
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !

मधेसी र जनजाति भएकैले
इतिहासको जटिल मोडमा
राष्ट्रपति र उपराष्ट्रपतिको भारीसमेत बोकाइयो
त्यसैले बाहुन–क्षेत्रीको सत्ता मुर्दावाद !