कांग्रेसले राष्ट्रियता बचाएको पौडेलको दाबी

कांग्रेसले राष्ट्रियता बचाएको पौडेलको दाबी


■ नारद कोहार, कपिलवस्तु

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको राष्ट्रियता बचाउन नेपाली कांग्रेसको योगदान महत्वपूर्ण रहेको दाबी गरेका छन् । नेपालको सुरक्षा नेपालको राष्ट्रियताको रक्षा नेपाली कांग्रेसको २००७ सालको क्रन्तीले गरेको नेता पौडेलले बताए ।

पार्टीले शुरु गरेको दोस्रो राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

सरकारले दुई तिहाईको दुरुपयोग गरेर देशलाई पछाडी धकेलेको उल्लेख गर्दै नेता पौडेलले भने- ‘दुई तिहाईको तागतले देशमा ठुलो विकासको फड्को मार्ने थियो तर यो देशको समृद्धिको यात्रालाई सवल रुपमा अगाडि बढाउनुपर्ने थियो, तर देशमा न कुनै उद्योग खुल्न सकेको छ, न कुनै योजना शिलान्यास गर्न सकेको छ, केवल हामीले बनाएको योजनाहरु उद्घाटन गरेर त्यही मञ्चबाट हामीलाई गाली गरेर मात्र उहाँहरुले दिन कटाउनुभएको छ ।’

सोही अवसरमा बोल्दै संसाद अतहर कमालले निर्मला हत्या काण्ड, एनसेलको करछली काण्डसँग सरकार मुछिएको आरोप लगाए ।

त्यस्तै, पुर्वमन्त्री दीपकुमार उपाध्यायले कांग्रेसमा पक्षपातको व्यवहार हुन थालेको औंल्याउँदै पार्टीमा समयसापेक्ष परिवर्तन हुनुपर्ने सुझाव दिए ।

पुर्व सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेले पार्टीमा अन्तर्घात गर्नेलाई कारवाही हुनुपर्ने माग गरे ।