विनाशकारी ताईफु टपाहाका कारण रेलसेवा ठप्प, जनजीवन प्रभावित

विनाशकारी ताईफु टपाहाका कारण रेलसेवा ठप्प, जनजीवन प्रभावित


■ श्याम क्षेत्री, टोकियो (जापान)

जापानको नागाशाकी, फुकुओका र हिरोसिमा क्षेत्रमा आइतबार जनजीवन ठप्प बनाउँदै अघि बढेको विनाशकारी ताईफु टपाहाले सोमबार विहान क्योतोमा असर पार्ने भएको छ ।

जापानको मेटोरोलोजिकल एजेन्सीले जनाएअनुसार आइतबार मध्यरात ताईफु टपाहाले यामागुचीदेखि माचुएसम्मको क्षेत्रमा व्यापक असर पारिरहेको छ ।

हिरोसिमा क्षेत्रमा वितण्डा मच्चाउँदै सोमबार विहान तोत्तोरी, क्योतो, गिफु लगायत क्षेत्रमा रेल सेवा ठप्प पार्दै जनजीवन समेत ठप्पप्रायः बनाउने विनाशकारी ताईफुको समयमा घरबाहिर ननिक्लन सूचना जारी गरिएको छ ।

गिफु, फुकुई, कानाजावा, नागानो, निगाता, उचुनोमिया, यामागाता क्षेत्रसम्म सोमबार मध्यरातसम्म असर पार्ने शक्तिशाली ताईफुले राजधानी टोकियोलाई समेत असर पार्ने भएको छ ।

माथि उल्लेख गरिएका क्षेत्रमा सोमबार विहानबाटै अधिकांश रेलसेवा ठप्प हुने भएको छ ।

आइतबार मध्यरातबाट बुलेट रेलहरु बन्द भएका यी क्षेत्रमा सोमबारदेखि मंगलबार विहानसम्म सबैजसो रेलसेवा बन्द हुने सूचना स्थानीय रेल कम्पनीहरुले सूचना जारी गरेका छन् ।

आइतबार एकैदिन ५ सयबढि आन्तरिक हवाई उडानसमेत अवरुद्ध भइसकेको यी क्षेत्रमा सोमबार पूर्ण रुपमा हवाई उडान समेत बन्द हुने भएका छन् ।

सोमबार विहानदेखि मंगलबार विहानसम्ममा राजधानी टोकियोमा रहेको नारिता र हानेदा अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरु समेत प्रभावित हुने भएका छन् ।

विमानस्थल प्रशासनले यात्रुहरुलाई आफ्नो विमान कम्पनीबाट उडान तालिकाबारे जानकारी लिन अनुरोध गरेको छ । साथै यात्राअघि मौसमबारेको पूर्ण विवरण लिएर यात्रामा निक्लन भनिएको छ ।

राजधानी टोकियोको अधिकांश क्षेत्रमा प्रतिघण्टा तीस किलोमिटरको गतिमा हावाहुरीसहित भारी वर्षा गराउने अनुमान मौसम एजेन्सीले गरेको छ ।

राजधानी टोकियो र यसआसपासको क्षेत्रमा पूर्वसूचना जारी भएर कुनै पनि रेल सेवासहित सडक क्षेत्र बन्द भएको नभए पनि सोमबार विहानबाट मंगलबार विहानसम्म सबैजसो क्षेत्रमा यातायातका साधन आवागमनमा असर पार्ने ठानिएको छ ।

मुसलधारे वर्षासँगै हावासमेत चल्ने हुनाले सोमबार विहानबाट मंगलबारसम्म टोकियो र आसपासको क्षेत्रमा नियमित समयभन्दा केही ढिलो गरी रेलसेवा सञ्चालन हुनुका साथै हवाई उडानसमेत अवरुद्ध हुनसक्ने मौसम अधिकारीहरुले बताएका छन् ।