‘गच्छदार’सँगको एकीकरणबारे छलफल गर्न कांग्रेस ‘केस’को बैठक बस्ने

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज १० गते





प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते शुक्रबार बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण र भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ ।

पार्टीले यसअघि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समिति गठन गरेको थियो ।

ज्ञातव्य छ, गच्छदारको तत्कालीन पार्टी नेपाल लोकतान्त्रिक फोरमसँग २०७४ असोज ३० गते कांग्रेसले एकीकरण गरेको थियो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएअनुसार बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ ।

गत भदौ २४ गतेदेखि प्रारम्भ गरिएको जागरण अभियान यही असोज ७ गते समापन हुँदैछ । यही बीचमा सो पार्टीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ केन्द्रीय कार्यसमिति गठन गर्ने र नेपाल तरुण दलमा देखिएको विवाद समाधान गर्ने जनाएको छ ।

काङ्ग्रेसले गत भदौ १७ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानको मापदण्ड तयार गरेर सैद्धान्तिक विषयमा एकरूपता गर्ने सम्बन्धमा आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गरेको थियो । पार्टीका केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वको सो समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्यछन् ।

प्रतिक्रिया