पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र शुरु

पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र शुरु


पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा बादी र प्रतिबादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले बादी र प्रतिबादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ ।

आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार हालसम्म २० साक्षीको पत्र अदालतमा पठाइएकामा न्यायाधीश हेमन्त रावलको इजलासमा बकपत्र भइरहेको छ ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । साउन २० गते नारायणगढको कंगारु होटेलमा पुडासैनी झुन्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोबाइलमा मृत्युअघिको भिडियोमा मर्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो ।