भारत बन्यो टीम च्याम्पियन, नीरा उत्कृष्ट खेलाडी

भारत बन्यो टीम च्याम्पियन, नीरा उत्कृष्ट खेलाडी


प्रथम इन्डो नेपाल पिकल बल च्याम्पियसिपको सम्पूर्ण स्वर्ण भारतले जितेको छ । पाँच स्वर्णका लागि भएको प्रतियोगितामा सबै पाँच स्वर्ण जित्दै भारतीय टिम च्यम्पियनसीप बनेको हो । प्रतियोगितामा नेपालकी नीरा कायस्थ उत्कृष्ट खेलाडी घोषित भइन् ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुष एकलमा तीनै पदक भारतले प्राप्त गऱ्यो । जसमा विकास चौधरी प्रथम, गौरव कुमार द्वितीय र मोहम्मद साहिद तृतीय भए । महिला एकलमा भारतकी पुजा वागले स्वर्ण प्राप्त गर्दा नेपालकी निरा कायस्थले रजत पाइन् । यस्तै नेपालकै मन्दिरा श्रेष्ठले कास्य पाइन् ।

पुरुष युगलतर्फ भारत पिकबल संघका अध्यक्ष डा. भरत राज शर्मा र विकास चौधरीको जोडीले स्वर्ण हात पाऱ्यो । भारतकै गौरव कुमार र मोहम्मद साहिद तथा भुपेन्द्र पल र मुख्तार अलीको जोडीले रजत र कास्य पाए । महिला तर्फ भारतका पुजा वाग र ईन्दिरा पाटिलले नेपालका उर्मिला तामाङ्ग र नवदुर्गा राईलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपालकै खुस्बु तिवारी र प्राची मादेनले कास्य पाए ।

नेपाल पिकलबल संघको आयोजनामा भएको प्रतियोगिताको मिश्रीत युगल तर्फको खेलमा भारतका डा. भरत राज शर्मा र नेपालकी निरा कायस्थको जोडीलाई पराजित गर्दै भारतका भुपेन्द्र पोल र ईन्दिरा पाटिलको जोडीले स्वर्ण हात पारे । तेश्रो स्थानमा भारतका निशान्त र रिश्माको जोडी रहे ।

विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, प्रदेश ३ का सांसद दिपेन श्रेष्ठ, एशियनल पिकलबल संघका महासचिव अमित कुमार राणा, नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाह, वडा नं. ९ का अध्यक्ष राम कृष्ण श्रेष्ठ, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवा लगायतले पुरस्कार वितरण गरेका थिए ।

दुई दिन चलेको प्रतियोगितामा नेपाल र भारतका २०-२० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।