राणा र श्रेष्ठ सकारात्मक, ओलम्पिक विवाद समाप्त हुने सङ्केत

राणा र श्रेष्ठ सकारात्मक, ओलम्पिक विवाद समाप्त हुने सङ्केत


■ श्रीविक्रम भण्डारी

राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणा र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ दुवै सकारात्मक बनेपछि नेपाल ओलम्पिक कमिटीको विवादमा सदाका लागि समाप्त हुने सङ्केत देखिएको छ । एक दशकसम्म चलेको ओलम्पिक विवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा परेको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै दुवै अध्यक्षले ओलम्पिकको विवादमाथि पूर्णबिराम लगाउने प्रतिबद्धता जाहेर गरेका हुन् । विवाद समाधानको प्रक्रिया अघि बढाउन अब केही समयपश्चात् नै दुवै पक्षबीच औपचारिक वार्ता हुने भएको छ । यसका लागि राणा र श्रेष्ठले हरियो झण्डा देखाइसकेका छन् भने अब औपचारिकता मात्रै बाँकी रहेको छ । वार्तापूर्व पहिले सहयोगीहरूसँग छलफल हुनेछ र त्यसपछि वार्ताको टुङ्गो लाग्नेछ । वार्तामा कानुनी प्रक्रिया पु¥याउँदै एउटै ‘नेपाल ओलम्पिक कमिटी’ बनाउनेबारे विशेष छलफल हुनेछ ।

ओलम्पिक कमिटीको विवादसम्बन्धी सम्पूर्ण मुद्दा सर्वोच्च अदालतले सल्ट्याइसकेको छ । जसको पूर्ण पाठसमेत आइसकेको छ । यस्तो अवस्थामा सर्वोच्चको फैसलाको अपहेलना नहुनेगरी कसरी कार्यान्वयनमा जाने त्यो महत्वपूर्ण पाटो बनेको छ । यतिबेला सर्वोच्चले फैसला गरिसकेको र कार्यान्वयन हुन मात्र बाँकी रहेको अवस्था छ । यस्तो अवस्थामा दुवै पक्षबीच सहमतिको वातावरण बने त्यो सजिलै कार्यान्वयन हुन सक्छ । यही कुरालाई मध्यनजर राख्दै राणा र श्रेष्ठले विगत लामो समयदेखि वार्तासमेत गर्दै आएका छन् । जसको सकारात्मक परिणाम हालै सम्पन्न नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचनमा समेत देखिएको थियो । स्वयम् राणाले ओलम्पिक कमिटीको निर्वाचनको सफलताको शुभकामनासमेत दिएका थिए । जुन कुरा ओलम्पिकको साधारणसभाको उद्घाटन सत्रमा श्रेष्ठले चर्चासमेत गरेका थिए । यसरी यतिबेला ओलम्पिक कमिटीको विवाद समाप्त भइसकेको छनक देखिएको छ । यथार्थमा भन्नुपर्दा त्यसमा कानुनी प्रक्रिया पूरा गरी लालमोहर लगाउन मात्र बाँकी रहेको अवस्था देखिन्छ ।

भदौ २० गते तय गरिएको ओलम्पिक कमिटीको निर्वाचनलाई भदौ १७ गते सर्वोच्चले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि अध्यक्ष श्रेष्ठले सर्वोच्चको आदेशको पालना गर्दै अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित भएको प्रेस विज्ञप्ति जारी गरेका थिए । त्यसपछि भदौ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चले अलपत्र परेको ओलम्पिक कमिटीको निर्वाचनलाई मार्गप्रशस्त गरेको थियो । सर्वोच्चले ओलम्पिक कार्यसमिति निर्वाचनलाई मार्गप्रशस्त गरेपछि निर्वाचन कमिटीले भदौ २८ गते निर्वाचनको मिति तोकेको थियो । यसरी सर्वोच्चले नै ओलम्पिक कमिटीको निर्वाचनलाई वैधानिकता प्रदान गरेपछि राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणाले निर्वाचनको सफलताको कामना गर्दै शुभकामना सन्देश दिएका थिए । राणाले समेत ओलम्पिक कार्यसमितिको निर्वाचनप्रति सकारात्मक धारणा राख्दै शुभकामना दिएपछि नेपालमा ओलम्पिक कमिटीको विवाद समाप्त भएको अहिले खेलकुदमा अड्कल काटिन लागेको छ ।

राणाले शुभकामना र बधाई सन्देशमा प्रस्ट रूपमा भनेका छन्, ‘म ओलम्पिकमा कुनै किसिमको विवाद गर्न चाहन्न, अहिले ओलम्पिक विवादित भएको एक दशक भइसकेको छ, खै के पायौँ त हामीले ? भो हामी आपसमा धेरै लड्यौँ, अब लड्नुको कुनै अर्थ र औचित्य छैन, त्यसैले अबको विकल्प भनेको आपसमा मिल्नु हो, एकले अर्कोलाई सहयोग र सम्मान गरेर अगाडि बढ्नुपर्छ, विवादरहित एउटै नेपाल ओलम्पिक कमिटी बनाउनुपर्छ, ओलम्पिकको मुभमेन्टलाई सबै मिलेर नेपालमा अगाडि बढाउनुपर्छ, यसैमा ओलम्पिक र खेलकुदको भलाइ छ ।’ अहिले नेपाल ओलम्पिक कमिटी कार्यसमितिको निर्वाचन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक कमिटी अफ एसियाका प्रतिनिधि विनोदकुमार तिवारीको पर्यवेक्षणमा सम्पन्न भएको छ । आईओसी र ओसीएका प्रतिनिधिको उपस्थितिमा भएको निर्वाचनमाथि कसैले औँला उठाउन पाउँदैन र मिल्दैन पनि । यदि कसैले विवादको रूप दिन विवादको लागि विवाद गर्न चाहन्छ भने त्यसले अन्तर्राष्ट्रिय संस्थालाई कुनै फरक पार्दैन– राणाले भने । त्यसैले अब कसैले विवाद निकाल्नुको कुनै अर्थ छैन, मिलेर जानुको अर्को विकल्प छैन । म अहिले यसको लागि प्रयासरत छु, भोलि एउटै नेपाल ओलम्पिक कमिटी हुने कुरामा विश्वस्त छु । अब मेरो–तेरो होइन, हाम्रो ओलम्पिक कमिटी हुनुपर्छ– राणाले भने ।

त्यस्तै, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक कमिटीको विवाद समाधान गर्न आफ्नो र राणाबीच सहमति भइसकेको बताए । सहमतिपछि विधान संशोधन भई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा पठाएकोमा आईओसीले समेत प्रमाणित गरेको बताए । यस्तो अवस्थामा मिलेर जानु सबैभन्दा राम्रो कुरा हो, मेरो चाहना हिजो पनि त्यही थियो आज पनि छ । पहिले पनि ओलम्पिक कमिटीको विवाद समाधान गर्ने प्रयास नभएका होइनन्, भएकै हुन्, तर त्यसबेला र अहिलेको माहोल फरक छ । यतिबेला ओलम्पिकप्रति सकारात्मक धारणा राख्ने र विवाद गर्न हुन्न भन्नेको सङ्ख्या खेलकुदमा बढी भएकोले ओलम्पिकको विवाद समाधान सदाका लागि समाप्त हुने कुरामा म विश्वस्त छु । अझ रुक्मशमशेर राणाले नै विवाद होइन मिलेर जानुको विकल्प छैन भनेपछि ओलम्पिक विवाद समाधानमा ठूलो बल प्राप्त भएको छ । मैले लामो समयदेखि राणासँग ओलम्पिक विवादको समाधानका लागि कुरा गर्दै आएको छु, अहिले सबै कुरा सकारात्मक मोडमा पुगेको छ, मलाई लाग्छ– अब ओलम्पिकको विवाद समाप्त हुन्छ– श्रेष्ठले भने । यो कुरालाई ओलम्पिक कमिटीको निर्वाचनले पनि प्रस्ट पारेको श्रेष्ठको कथन थियो । राणाले ओलम्पिक कमिटीको मर्म बुझ्नुभएको छ, त्यसैले उहाँले विवादभन्दा सहकार्यलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ । यो ओलम्पिकका लागि शुभसङ्केत पनि हो ।

यसरी यतिबेला ओलम्पिकको माहोल सकारात्मक बनेको छ । राणा र श्रेष्ठले ओलम्पिकको विवाद समाधान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् । यस्तो अवस्थामा ओलम्पिकको विवाद सदाको लागि समाप्त हुने सङ्केत देखिए पनि कानुनी बाधा–अड्चन कति जटिल बन्छन् त्यो महत्वपूर्ण अनि कुरोको चुरो बनेकोे छ । अहिले व्यक्तिगत रूपमा ओलम्पिक विवादलाई समाधान गर्न लागेका राणा र श्रेष्ठ यसमा कति सफल हुन्छन् त्यो प्रतीक्षा गर्नु नै राम्रो होला ।