एसियाली पूर्वाधार बैंक ६ परियोजनामा एक अर्ब डलर लगानी गर्दै

एसियाली पूर्वाधार बैंक ६ परियोजनामा एक अर्ब डलर लगानी गर्दै


चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का ६ वटा परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ ।

बैंकका अध्यक्ष जिन लिक्वुनले चीन, आसियान मुलुकहरू र अरू एसियाली मुलुकबीचको अन्तरदेशीय सम्पर्क सञ्जाल प्रवद्र्धन गर्न बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

विगत चार वर्षमा एआईआईबीले आसियानका ६ वटा मुलुकका १० वटा परियोजनामा करिब एक अर्ब डलर लगानी गरिसकेको पनि अध्यक्ष जिनले जानकारी दिए ।

आसियान क्षेत्रमा पारस्परिक सञ्जाल सम्पर्क बढाउन बेल्ट एन्ड रोड अभियानको भूमिकाबारे चर्चा गर्दै अध्यक्ष जिनले आसियानका सदस्य मुलुकले यस कार्यक्रमबाट बढी लाभ लिन सक्ने बताए ।

बेइजिङमा मुख्यालय रहेको यो बैंक चीनको अग्रसरतामा स्थापना गरिएको पूर्वाधार विकास बैंक हो । सन् २०१६ देखि कारोबार थालेको यस बैंकका हाल सयवटा मुलुक सदस्य छन् । बैंकले हालसम्म आफ्ना सदस्य १८ मुलुकका ४६१ परियोजना स्वीकृत गरी ८ अर्ब ५० करोड अमेरिकी डलर लगानी गरिसकेको छ ।

रासस–सिन्ह्वा