भगवानको बाल अस्पताललाई ५ लाख सहयोग

भगवानको बाल अस्पताललाई ५ लाख सहयोग


कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ उज्ज्वल नगरस्थित उज्ज्वल तारा स्कुलले नेपालका पुराना धावकद्वय जितबहादुर केसी र विमला राना मगरलाई जनही ११ हजार १ सय ११ रुपैयाँसहित ‘उज्ज्वल तारा सम्मान २०७६’बाट सम्मान गर्ने भएको छ ।

विद्यालयका संस्थापक सल्लाहकार एवम् ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ कार्यक्रमका संयोजक विष्णु कार्कीले असोज ११ गते शनिबार आयोजना हुन लागेको दौडका अवसरमा धावकद्वयलाई नगदसहित सम्मान गर्न लागिएको घोषणा गरेका हुन् ।

‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’को अन्तिम तयारीबारे शनिबार काँडाघारीस्थित त्रिशक्ति पार्टी प्यालेसमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृवमा निर्माण हुन लागेको गैरनाफामुखी बालरोग अस्पतालको लागि उज्ज्वल तारा स्कुलले ५ लाख नगद प्रदान गर्ने पनि घोषणा गर्यो ।

अस्पतालका संस्थापक एवम् काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. कोइरालाको उपस्थितिमा भएको सो छलफल कार्यक्रममा सो बाल अस्पतालको लागि उज्ज्वल तारा स्कुलले ५ लाख रुपैयाँको साथै उज्ज्वल नगर समाजले १ लाख ११ हजार र स्थानीय अनिल थापाले १ लाख १ हजार रुपैयाँ दिने घोषणा गरे भने छलफल कार्यक्रममा सहभागी विभिन्न व्यक्तिबाट समेत गरी बाल अस्पताल निर्माणको लागि १५ लाख रुपैयाँ दिने घोषणा भएको थियो ।

बालरोग अस्पतालका संस्थापक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले उज्ज्वल तारा स्कुलले बाल अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेर उदाहरणीय काम गरेकोमा त्यसको प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेलले दौडको उद्देश्यबारे प्रकाश पारेकी थिइन् भने नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दौड सफलताको कामना गरे ।

केटाकेटीदेखि ६० वर्ष उमेरभन्दा माथिकालाई समेत सहभागी गराउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त दौडमा विभिन्न १६ वटा विधा रहनेछन् । आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्यबारे जनचेतना फैलाउन र दशैंको शुभकामना आदनप्रदान गर्ने उद्देश्यले तेस्रो पटक सो दौड आगामी असोज ११ गते काँडाघारीमा गर्न लागिएको हो ।