खोला धितो राखेर ऋण दिने बैंकका पूर्वसीईओसहित ११ जना पक्राउ

खोला धितो राखेर ऋण दिने बैंकका पूर्वसीईओसहित ११ जना पक्राउ


बैंक अफ काठमाडौंबाट भएको कर्जा हिनामिना प्रकरणमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरो सीआईबीले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।

नक्कली जग्गा धितो राखेर चार करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

खोला बगिरहेको जग्गा धितो राखेर ऋण स्वीकृत गरेर ऋण प्रवाह कार्यमा उनीहरूको संलग्नता रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । बैंकका कर्मचारीले खोला बगिरहेको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए । त्यस कार्यमा त्यति ठूलो रकम स्वीकृत गर्दा सीईओको पनि भूमिका रहेको भन्दै श्रेष्ठलाई समेतलाई सीआईबीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ श्रेष्ठसहित चारजना पूर्वकर्मचारी र तीनजना वहालवाला कर्माचारी र चारजना ऋणी रहेका छन् । उनीहरू विभिन्न समयमा अलगअलग ठाउँबाट पक्राउ परेका हुन् ।

उक्त कर्जा प्रवाह बैंक अफ काठमाडौंको कमलादी शाखाबाट गरिएको थियो । हाल पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको बताइएको छ ।