पुलिसलाई सर्वाधिक धनराशिको भलिबल उपाधि

पुलिसलाई सर्वाधिक धनराशिको भलिबल उपाधि


घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको नेपाल पुलिस क्लबले जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

राष्ट्रिय खेलाडीले भरिएको दुई टोलीबीचको फाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि पुलिसले एकपक्षीय नतिजा निकाल्न सफल भयो । तीनै सेट पुलिस २५–२२, २५–२२ र २५–२२ ले नै विजयी हुन सफल भएको थियो । तीनै सेटमा आर्मीले सुरुवाती अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।

उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ हात पाऱ्यो । दोस्रो भएको आर्मीले ३ लाख रुपैयामा चिक्त बुझायो । तेस्रो भएको गण्डकी प्रदेशले एक लाख तथा चौथो भएको नेपाल एपीएफ क्लबले ५० हजार रुपैयाँ हात पाऱ्यो । व्यक्तिगत विधामा च्यामिपयन पुलिसले वर्चस्व जमाउदा आर्मीका धनबहादुर भट्ट क्षेत्री प्रतियोगताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले एक थान टीभीएस मोटरसाइकल हात पारे ।

त्यस्तै पुलिसका कुल बहादुर थापा बेस्ट स्पाइकर, कप्तान इम बहादुर राना सेटर, द्वारिका थापा सर्भर, भीम गाहामगर लिवेरो र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । गण्डकी प्रदेशका याम क्षेत्री उत्कृष्ट ब्लकर चुनिए । व्यक्तिगत विधाका उत्कृष्टहरूले जनही १०–१० हजार रुपैयाँ पाए ।

प्रगतिशील युवा नेपाल गोरखा काठमाडौंले आयोजनामा गत भदौ २४ बाट शुरु भएको प्रतियोगितामा विभिन्न ८ टोलीले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।