आजदेखि दशैंको अग्रिम टिकट बुकिङ सुरु

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ सुरु


आज अर्थात असोज ५ गते आइतबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ सुरु भएको छ । दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ खुला गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार आजदेखि लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु भएको जानकारी दिए । उनका अनुसार नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने छ । ‘आजदेखि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम टिकट बुकिङ सुरु भएको छ ।’ महासचिव सिटौला भन्छन्, ‘यसपटकको दशैंमा यात्रुलाई टिकट बुकिङमा सहज बनाउने योजना बनाएकोले विगतका बर्षमा झैं सास्ती हुँदैन् ।’

यो पटकको दशैंमा करिब ३० देखि ३५ लाख नागरिकहरुले काठमाडौं छाड्ने अनुमान गरिएको छ । घर फर्किने अधिकांश नागरिकले सार्वजनिक यातायातकै प्रयोग गर्दछन् । तर, सार्वजनिक सवारीसाधनको संख्या कम हुँदा सर्वसाधारणले सास्ती खेप्ने अनुमान गरिएको छ । अग्रिम बुकिङ खुल्ला भएपनि टिकटको कालोबजारी हुन सक्ने शंकाहरु नागरिकहरुले गर्न थालेका छन् । सवारीसाधनको कमी भएकै कारण व्यवसायीहरुले चर्को भाडा उठाउने चिन्ता नागरिकमा छ ।

टिकटमा हुने मनोमानी रोक्नका लागि उपत्यकामा यात्रु सहायता कक्ष खोल्ने तयारीमा यातायात व्यवस्था विभाग छ । असोज १० गते यात्रु सहायता कक्ष संचालनमा ल्याउने तयारमिा विभाग छ । विभागका महानिर्देशक गोपाल बहादुर हमालले दशैंका नाममा बढी भाडा लिन खोजे, कालोबजारीमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने जानकारी दिए । ‘एकै पटक धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन पहिलेदेखि को हो ।’ महानिर्देशक हमालले भने, ‘आफ्नो गन्तब्यसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न सबैमा अनुरोध छ ।’

व्यवसायीहरुले विगतमा सामान्य सवारी साधनलाई समेत सुविधासम्मपन्न भएको भन्दै यात्रुसँग मनपरी भाडा लिएको धेरै उदाहरण पनि छ । व्यवसायीहरुले विभिन्न बहानामा ३५ प्रतिशतभन्दा बढी भाडा असुल्ने गरेको गुनासो पनि नागरिकस्तरबाट आउने गरेको छ । तर, तोकिएकोभन्दा बढी भाडा लिए कारवाही गर्ने यातायात व्यवस्था विभागले दाबी गर्दै आएको छ ।

सवारीसाधनले उठाउने भाडा मात्र समस्या होइन, सडकको समस्या पनि उस्तै छ । सडक कर बढाइएपनि पूर्वाधार निर्माणमा ध्यान नदिएको चालकहरु बताउँछन् । सडकको अवस्था हेरेर सवारी चलाउन ट्राफिक महाशाखाको अनुरोध छ ।