धागोमा नेपाल आत्मनिर्भर उन्मुख, कपडामा विदेशकै भर

धागोमा नेपाल आत्मनिर्भर उन्मुख, कपडामा विदेशकै भर


  • छविलाल बगाले

नेपाल धागोमा आत्मनिर्भर उन्मुख भएपनि कपडा उत्पादनमा भने कमजोर छ । उत्पादित धागो निर्यात हुँदा अर्बौैंको कपडा आयात गर्नुपर्ने विडम्बना पनि छ । उद्योगी कपडा उत्पादन गर्न तयार भएपनि सरकारी चासो नहुँदा उद्योगीहरु ‘पर्ख र हेर’ को अवस्थामा छन् ।

हरेक बर्ष नेपालमा कपडाको माग बढ्दो रहेको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्र कुमार लोहिया बताउँछन् । उनका अनुसार स्वदेशभित्र मागअनुसारको कपडा उत्पादन भने हुन सकेको छैन् । ‘माग धान्नकै लागि भारत, चीन लगायतका मुलुकबाट ९५ प्रतिशत कपडा आयात गर्नुपरेको छ ।’ उनले भने, ‘मागको ५ प्रतिशतमात्रै कपडा स्वदेशभित्र उत्पादन भएको छ ।’

उपाध्यक्ष लोहियाको कुरालाई आधार मान्दा नेपालको कपडा उत्पादनको क्षेत्रमा १० अर्बको लगानी छ । तर खुला सिमानाबाट भन्सार छलेर ल्याइएका कपडासँग प्रतिस्पर्धा गर्न नसकेका उद्योग र उद्योगी मारमा छन् ।

नेपालमा कपडाको माग र आपूर्तिको अवस्था :

उता, कपडाको तुलनामा नेपालमा धागो उत्पादनले छलाङ मारेको छ । नेपाली उद्योगहरुले धागोमा आफूलाई आत्मनिर्भरतिर लगेका छन् । मुलुकभित्र उत्पादन भएको धागोमध्ये ८० प्रतिशत टर्की, भारत र अमेरिकाजस्ता मुलुकमा निर्यात हुन्छ भने बाँकी २० प्रतिशतमात्रै स्वदेशी कपडा उद्योगले खपत गर्ने गरेको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानको भनाई छ । ‘सबै धागो स्वदेशभित्रै खपत हुने वातावरण सरकारले मिलाउनुपर्छ ।’ उनले भने, ‘स्वदेशी धागोलाई राज्यले प्रयोगमा ल्याउने हो भने नेपालमा कपडाको उत्पादन ५ प्रतिशतबाट बढेर २० प्रतिशतमा पुग्नेछ ।’

के छन् त कपडा तथा धागो उद्योगको समस्या :
–न्यून बिजकीकरण
–चोरी पैठारी
–सरकारी सहुलियत
–कच्चा पदार्थको अभाव
–कमजोर भन्सार मूल्य

औद्योगिक क्षेत्रमा आत्मनिर्भर गराउने सरकारी लक्ष्य पनि छ । तर लक्ष्य अनुसारको काम नहुँदा राष्ट्रिय महत्व बोकेका उद्योगहरु जीवन मरणको दोसाँधमा छन् । अर्थमन्त्री युवराज खतिवडा उद्योगीमा प्रतिस्पर्धा, लगनशीलता, उत्कृष्टता र अनुसन्धान हुने हो भने उद्योगको विकास र सम्बृद्धि टाढा नरहेको तर्क गर्छन् । तर राज्यले धागो तथा कपडा उद्योगले पाउँदै आएको सुविधा काटेकोप्रति उद्योगीहरु चिन्तामा छन् ।

यता, सर्वसाधारण पनि नेपाली उत्पादनलाई माया गर्नुपर्ने सुझाव दिन्छन् । सरकारले निजामती कर्मचारी, सेना, प्रहरी लगायतलाई नेपाली कपडा प्रयोग गर्न नियम बनाउनुपर्ने तर्क उनिहरुको छ । सरकारी राहतको पर्खाइमा बसेका धागो र कपडा उद्योगी उद्योगमा लगानी गर्न इच्छुृक छन् । तर सरकारले चासो नदिदाँ उद्योगीहरु ‘पर्ख र हेर’को अवस्थामा छन् ।