भूमिहीन घर परिवारद्वारा लालपूर्जाको माग

भूमिहीन घर परिवारद्वारा लालपूर्जाको माग


■ सनिउल्ला धोबी, कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका करिव ४ हजार भूमिहीन घर परिवारलाई जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा सरकारले प्रदान गर्नु पर्ने जिल्ला भूमि अधिकार मञ्च कपिलवस्तुका अध्यक्ष निरपत थारुले माग गरेका छन् ।

‘संविधान समृद्धिका लागि भूमि अधिकार स्थानीय सरकार हाम्रो सरोकार’ भन्ने नारासहित जिल्ला भूमि अधिकार मञ्च कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिकामा शुक्रबार (३ असोज) शुरु भएको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

सो अवसरमा भूमिहीन नाजमा खातुनले लालपुर्जाको लागि पटक पटक माग गर्दा पनि सरकारले बहाना बनाएर फसाउँदै आएको आरोप लगाइन् । नाजमाले वर्षौंदेखि विनापुर्जाको जग्गामा जोतभोग गर्दै आएका सुकुम्बासीहरुलाई संविधान निर्माण भएको ४ वर्ष पुरा हुँदा पनि भूमिहीनका समस्या जस्ताको तस्तै रहेको गुनासो गरिन् ।

भूमिहीनहरुले आफ्नो गाँस, बास र कपासको लागि कहाँ कोसँग माग्ने, भूमिहीनका मुद्दालाई सरकारले कसरी सम्बोधन गरेको छ भन्ने विषयमा जानकारी दिनका लागि प्रशिक्षण कार्यक्रममा भुमीहीनले यस्तो बताएका हुन् । सुरक्षित घरबास सबैलाई खेतियोग्य जमिन जोताहा किसानका लागि प्रशिक्षण कार्यक्रम सुरु भएको हो । शिवराज नगरपालिकाको सहयोगमा सञ्चालित भूमिहीन किसानहरुको अधिकारका लागि संविधानमा भएका व्यवस्थाका बारेमा जानकारीसहितको प्रशिक्षण दिइने आयोजक भूमि अधिकार मञ्चले जनाएको छ ।

वास्तविका सुकुम्बासीका समस्या अहिले देशकै टडकारो समस्याको रुपमा रहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । सुकुम्बासीलाई हकभोगको व्यवस्था गर्नका लागि भूमि व्यवस्था विधेयक पास भइसकेको र ऐन नीति नियम निर्माणको काम भैरहेको उनले जानकारी दिए । नीति र नियम बनेपछि भूमिहिनले जग्गा पाउनेमा ढुक्क हुनसमेत प्रमुख अधिकारीले सुकुम्बासीलाई आश्वस्त पारे । हक अधिकार माग गर्नु जायज भएको जनाउँदै मेयर अधिकारीले सुकुम्बासीको नाममा हुकुमवासीले फाइदा लिने हुँदा वास्तविक सुकुम्वासी सधैँ ओझेलमा पर्ने गरेको बताए ।

नगरले गत आर्थिक वर्षमा सुकुम्वासी बस्तीमा पनि सडक , खानेपानी स्वास्थ्य, शिक्षा लगायतका भौतिक पूर्वाधारहरुको विकास गरको उल्लेख गर्दै नगरले सुकुम्बासीलाई प्राथमिकतामा राखेको जिकीर गरे । घरबास नभएकाहरुलाई नगरले केहि वर्षअघि वनसँग सहकार्य गरी आवासको व्यवस्था गरिदिएको बताउँदै ,सुकुम्वासी भन्दै जग्गा घेरेर बेच्नेहरुबाट वास्तविक सुकुम्वासी सचेत हुनु उनले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले सुकुम्वासीलाई लालपुर्जा दिने भन्दै बेलाबखतमा रकम असुल्ने काम भएकोले कोही कसैलाई रकम नदिन र कसैको लहलहैमा नलाग्न आग्रह गरे । स्थानीय तहले लालपुर्जा वितरण गर्ने अधिकार नभएकोले चुनावी भाषणमा गरिएको प्रतिबद्धता पूरा गर्न नसकेको तर्क गरे । अहिलेको सरकार बहुमतको सरकार भएकाले भूमि व्यवस्था विधेयक पास भइसकेको हुँदा अब ढिलोचाँडो लालपुर्जा वितरण हुने आश्वासन सापकोटाले दिए ।

भूमि अधिकार मञ्च कपिलवस्तुका अध्यक्ष नृपथ थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, वडा नं. ५ का अध्यक्ष अर्जुनबहादुर पाण्डे, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, मालपोत कार्यालय चन्द्रौटाका नायब सुब्बा लोकबहादुर खत्री, मञ्चका पूर्व केन्द्रिय अध्यक्ष सोमप्रसाद भण्डारी, नेपाली कांग्रेस शिवराज नगर सभापति मधु पोखरेल लगायतको सहभागिता रहेको कार्यक्रमको स्वागत मञ्चका सल्लाहकार लालु खनाल र सञ्चालन मन्जु चौधरीले गरेकी थिइन् ।