संविधान दिवसको पूर्वसन्ध्या : बुढापाकाहरु सरसफाई गर्दै, तन्नेरीहरु नारा घन्काउँदै !

संविधान दिवसको पूर्वसन्ध्या : बुढापाकाहरु सरसफाई गर्दै, तन्नेरीहरु नारा घन्काउँदै !


■ हेमशंकर सिंह, राजविराज

संविधान दिवसको अघिल्लो दिन (२ असोज) एकाविहानै राजविराजको गजेन्द्र चोक सुरक्षाकर्मी र राष्ट्रसेवक (कर्मचारी)हरुले भरियो । सेना, प्रहरी, सशस्त्र प्रहरी गरी तीनैै निकायका सुरक्षाकर्मीहरु आ-आफ्ना सुरक्षा प्रमुखको नेतृत्वमा चोकमा भेला भए । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसमेत उपस्थित थिए । सँगै राजविराज नगरपालिकाका सफाईकर्मीहरु लिएर नगरपालिकाका कर्मचारीहरु आइपुगे ।

तर, राजविराज नगरपालिकाका मेयर, उपमेयर भने त्यो भीडमा देखिएनन् । एकैछिनपछि नागरिक समाजका अगुवाहरु समेत यहाँ आइपुगे र हातमा पन्जा लगाएर सबै सरसफाइमा जुटे । कोही हातले फोहोर टिप्दै थिए भने कोही कुचोले सडक बढार्न थाले ।

गजेन्द्र चोकदेखि करिव सय मिटर दक्षिण राजविराज नगरपालिकाकी उपमेयर साधना झा पूर्वपट्टीको सडक पेटिमा उभिएको अवस्थामा देखिइन् । उनलाई त्यहाँ देखेर केही वडा अध्यक्ष र सरकारी कर्मचारीहरु नजिक पुगी उनलाई सरसफाई कार्यक्रममा सरिक हुन आग्रह गर्न थाले । प्रत्युत्तरमा उनले ‘तपाईंहरु बढ्दै गर्नुस् म आउँदैछु’ भनिन् । तर उनी त्यहाँ पुगिनन् । आफ्नो पार्टी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइरहेकोले सरकारी कार्यक्रममा आफु सहभागी नहुने उनले घटना र विचारसँग खुलस्त बताइन् । एकैछिनपछि उनी गजेन्द्र चोकदेखि उत्तरपट्टी रहेको सडक पेटिमा पुगिन्, जहाँ राजपाका नेता कार्यकर्ताहरु जम्मा हुँदै थिए । संविधान दिवसलाई कालो दिवस मनाउनुपूर्व राजपाले पनि सरसफाई कार्यक्रमको आयोजना गरेको थियो ।

सडकको सरसफाइपछि सरकारी टोली गजेन्द्र चौकको सरसफाई गर्न लम्कियो । तर चोकको मूलगेटमा ताल्चा लागेकाले उनीहरु त्यहाँ रोकिए । एकैछिनपछि राजपाका गजेन्द्र भक्त नेता विनोद यादव त्यहाँ पुगेर ताल्चा खोले । त्यसपछि सुरक्षाकर्मी, कर्मचारी र नागरिक समाज सम्मिलित टोलीले त्यहाँ सरसफाई गर्न शुरु गरे । विस्तारै राजपाका नेताहरुको भीड पनि जम्मा हुँदै गए । एकछिनमै सरसफाईमा सहभागी एक जनप्रतिनिधिले राजपाका नेता कार्यकर्ताले पनि सरसफाई गर्ने भनेपछि विस्तारै सरकारी टोली त्यहाँबाट बाहिरियो । सरकारी टोली बाहिरिन लागेको देखेपछि राजपाको टोली हातमा कालो झण्डा लिएर हाम्रो आन्दोलन जारी छ, संविधानलाई खारेज गर, संविधानलाई संशोधन गर जस्ता नारा घन्काउँदै गजेन्द्र चौकतिर आइपुगे ।

त्यसपछि कोही सरसफाईमा जुटे, कोही नारा घन्काउँदै बसे । केही बुढापाका नेताहरु हातमा कुचो लिएर बढार्नुका साथै उम्रेका घाँसपातहरु टिप्न थाले । सरसफाईका लागि कुटो, कोदालो, हँसिया नभएको भन्दै बाँकी सहभागीहरु नारा घन्काउँदै बसिरहे । एकैछिनपछि केही सहभागीहरुले सरसफाई सहयोग पुऱ्याउन नगरपालिकाको सफाईकर्मी बोलाइदिन उपमेयर साधना झासँग आग्रह गरे । नगरपालिकामा भएका सफाईकर्मीहरु वडाहरुमा पठाइसकिएको उनले भनेपछि बजारबाट मजदुर ल्याएर सरसफाई गर्न केही सहभागीले आग्रह गरे ।

बुढापाकाहरुले सरसफाई गर्दै गरेको देखेर मन पिरोलिएपछि उपमेयर झा हातमा हँसिया बोकेर त्यहाँ उम्रेको घाँस काट्न थालिन् । उनलाई जिल्ला समन्वय समिति सप्तरीकी एक सदस्यसहित अन्य केही राजपा स्थानीय नेताहरुले सघाउन थाले । उनीहरु पनि थकित भएर सेलाउन थालेपछि सरसफाइको विडा राजपाकै अर्का गजेन्द्रभक्त नेता प्रमोद यादवले उठाए ।

बुढापाकाहरु सरसफाई गर्ने र तन्नेहरु नारा घन्काउने क्रम चलिरहँदा त्यहाँ प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह टुप्लुक्क आइपुगे । उनी आउँदै गरेको देखेपछि नारा जोडतोडले घन्किन थाल्यो । एकैछिनमा मन्त्री साह हातमा माला बोकेर मधेश आन्दोलनका प्रणेता गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गर्न अघि बढे । त्यसपछि राजपाका नेता कार्यकर्ताहरु हातमा कालो झण्डा लिएर संविधान खारेजीको नारा लगाउँदै राजविराज बजार क्षेत्रमा मोटरसाइकल ऱ्याली निकाले ।

राजपाको सरसफाई कार्यक्रम र विरोध जुलुसमा भने राजविराज नगरपालिकाकी उपमेयर साधना झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस सिंह, राजविराज नगरपालिका वडा नं. १ वडा अध्यक्ष चन्द्रनारायण चौधरी, राजपाका सहमहासचिव गजेन्द्र मण्डल, केन्द्रिय सदस्यहरु विसेश्वर रजक, दीपेन्द्र चौधरीलगायत सहभागी भएका थिए ।

राजपाबाटै निर्वाचित जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादव भने सो कार्यक्रममा देखिएनन् । यद्यपि सरकारी टोलीको सरसफाईको क्रमशः पनि उनको उपस्थिति थिएन । यादवकै संयोजकत्वमा संविधान दिवसलाई राष्ट्र दिवसको रुपमा भव्यता र व्यापकताका साथ हर्षोल्लासपूर्वक मनाउन जिल्ला मूल समारोह समिति गठन भएको छ ।

सो समितिले आज बिहीबार राजविराजमा विहान विशेष नगर सरसफाई र बेलुकी कार्यालयहरुमा दिपावली गरेको छ । भोली शुक्रबार (३ असोज) विहान प्रभातफेरी, झण्डोतोलन र संविधानको महत्व विषयक प्रवचन कार्यक्रमको आयोजना मूल समारोह समितिले गर्ने जनाएको छ । राजविराजको शिवशंकर सिनेमा हलमा मनाइने सो कार्यक्रममै जिल्ला प्रहरी कार्यालयले लागुऔषध सचेतनासम्बन्धी वृतचित्र प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

यसैगरी शुक्रबार विहान पवि माविमा वृक्षारोपन र साँझ कार्यालय र घर घरमा दिपावली गरी तीनदिवसीय संविधान दिवस मूल समारोह समितिले सम्पन्न गर्ने कार्यक्रम अघिसारिएको जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादवद्वारा प्रेसित पत्रमा उल्लेख छ ।

संघीय सरकारले यसपटकको संविधान दिवसको नारा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षेल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दिपावली गरौँ’ तय गरेको छ । सो नारासँगै कुनै पनि औपचारिक कार्यक्रमहरु सञ्चालन गर्दा प्रयोग गरिने राष्ट्र झण्डाको साइजसहितको तस्बिर राखिएको सरकारी सर्कुलरसमेत संयोजक यादवद्वारा प्रेसित पत्रमा टाँस गरिएको छ ।

संविधान दिवसलाई कालो दिवस मनाउने क्रममा शुक्रबार राजपाले १८ वटै स्थानीय तहहरुमा कालो झण्डासहित विरोध प्रदर्शन गर्ने र दिउँसो २ बजे राजविराजको गजेन्द्र चौकमा कालो दिवस मनाउने भएको छ । राजविराजमा मनाइने कालो दिवसका लागि राजपाको केन्द्रिय समितिले पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण र सहमहासचिव रानी शर्मा तिवारीलाई खटाएको छ । कर्ण र तिवारीसँगै राजपा सप्तरीका स्थानीय तथा केन्द्रिय नेताहरुले संवोधन गर्ने राजपा सप्तरीले जनाएको छ ।