प्रहरी हवल्दारबाटै बालिकामाथि बलात्कार प्रयास !

प्रहरी हवल्दारबाटै बालिकामाथि बलात्कार प्रयास !


डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएका प्रहरीचौकी त्रिपुराकोटका प्रहरी हवल्दारले बालिका बलात्कारको प्रयास गरेका छन् । त्रिपुराकोट प्रहरीचौकीका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जीसीले १२ वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार प्रयास गरेको भन्दै स्थानीयले बिहीबार दिउँसो त्रिपुराकोट प्रहरीचौकीमा ढुंगामुढा गरेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका– २ की १२ वर्षीया बालिकालाई असोज १ गते राति ८ बजेतिर मदिरा सेवन गरेर जबर्जस्ती बलात्कार प्रयास गरेको पीडितका आफन्तले बताएका छन् । पीडित पक्षले प्रहरी हवल्दारको सो हर्कतको विरोध गर्दै कारबाहीका लागि निवेदन दिएलगत्तै आरोपित जीसीलाई असोज १ गते राति नै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाएको भन्दै रुम गाउँका स्थानीयले बिहीबार प्रहरीचौकी घेराउ गर्दै ढुंगामुढा गरेका हुन् ।

पीडित पक्षले बलात्कारी प्रहरी चाहिँदैन, दोषीलाई कारबाही होस्, पीडितलाई क्षतिपूर्तिको माग पनि गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बलात्कार प्रयासका आरोपित जीसीलाई पक्राउ गरी जिल्ला ल्याएर छानबिन भइरहेको उल्लेख गर्दै दोषी देखिए हदैसम्मको कारबाही गर्ने बताए ।