यात्रु अभावमा असार ४ पछि सुकेटार विमानस्थलमा उडान भएन

यात्रु अभावमा असार ४ पछि सुकेटार विमानस्थलमा उडान भएन


ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन ।

वर्षातमा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो । मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लोपटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेसन प्रमुख राजु कार्कीले बताए । ‘असार, साउनमा मौसम खराबीले नियमित उडान भएन, अहिले उडानका लागि मौसम अनुकूल भए पनि एक–दुईजना यात्रु फाट्टफुट्ट आउने गर्नुभएको छ, कम्तीमा ६–७ जनासम्म नहुँदा घाटा व्यहोर्नुपर्छ,’ कार्कीले भने ।

यद्यपि चार–पाँचजनासम्म यात्रु पाए घाटा व्यहोरेर भए पनि उडान शुरु गर्ने मनस्थितिमा निगम रहेको उनले बताए । सुकेटार विमानस्थलमा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाडौं उडान गर्ने नियमित कार्यतालिका छ । यता निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

पटक–पटक टिकट काटेर विमानस्थलबाटै फर्कनुपर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयवासीले गाडी नै चढ्ने गरेका छन् । यो वर्ष असार ४ यता उडान हुन सकेको छैन ।

rss