‘चाविष्टा’ उचाल्दै प्रचण्ड : देश फेरि हिंसात्मक द्वन्द्वमा फस्ने खतरा !

‘चाविष्टा’ उचाल्दै प्रचण्ड : देश फेरि हिंसात्मक द्वन्द्वमा फस्ने खतरा !


प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थिति विभिन्न कारणले रक्षात्मक बन्दै गएपछि पछिल्लो केही दिनयता प्रचण्ड निकै उत्तेजित र आक्रामक भूमिकामा देखापर्न थालेका छन् । भेनेजुएलाका मादुरोले झैँ प्रचण्डले आफ्ना ‘चाविस्टा’ अर्थात् भिजिलान्तेहरूलाई कडा निर्देशन दिँदै भिन्न विचार राख्नेहरूलाई ‘सिध्याउन’ आदेश दिएर देशलाई अर्को चरणको द्वन्द्वमा लैजाने खतरनाक स्थिति पैदा गरेका छन् ।

राजा, सेना, प्रहरी प्रशासन र काङ्ग्रेसलाई झुक्याउँदै यहाँसम्मको राजनीतिक यात्रा तय गरेका प्रचण्ड भारत, अमेरिका र चीनलाई समेत भुलभुलैयामा राखेर एकलौटी सत्ताको मालिक बन्ने योजनामा रहेको बुझिन्थ्यो । देशको सबैभन्दा ठूलो राजनीतिक दलको अधिपति बन्ने, त्यसपछि भारत र अमेरिकालाई चक्मा दिँदै सम्पूर्ण सत्ताको मालिक बन्ने र सत्तारक्षाका निमित्त चीनको शरणमा जाने प्रचण्डको चालबाजी अब स्पष्ट हुँदै आएको छ ।

केपी ओलीपछि पार्टीको एकलौटी मालिक बन्ने आफ्नो आकाङ्क्षालाई छेक्न वामदेव गौतमलाई अघि सारिएपछि झस्किएका प्रचण्ड आफ्नो भूमिका सर्वोपरी बनाउन आक्रामक रूपमा प्रस्तुत भएको बताउन थालिएको छ । चिनियाँ विदेशमन्त्रीसँग भएका गोप्य कुरा ‘एक्स्पोज’ भएपछि उनी झन् तरङ्गित भएका छन् र ‘इन्डो–प्यासिफिक कमाण्ड’को विपक्षमा तथा बीआरआईको पक्षमा खुलेर प्रस्तुत हुनुपर्ने स्थितिमा पुगेका छन् ।

अमेरिकीहरू हतपति लगानी गर्दैनन् र गरिसकेपछि त्यसको प्रतिफल लिएरै छोड्ने चरित्रका हुन्छन् । प्रचण्डहरूलाई ‘माथि उठाउन’ अमेरिकाले विगतमा सहयोग पुऱ्याउनुको जुन कारण थियो, त्यो कारणभन्दा बाहिर प्रचण्ड गएमा उनी ‘नयाँ बिन लादेन’ ठहर हुने प्रबल सम्भावना छ । यदि अमेरिकाले आफू प्रचण्डबाट ठगिएको या उनीबाट धोखा भएको महसुस गऱ्यो भने प्रचण्डको राजनीतिमा पूर्णविराम लाग्न अब धेरै समय नलाग्ने भनेर बुझ्न सकिन्छ । चीननिकट बनेर चीनलाई धोखा दिने रणनीतिक चाल चालेका हुन् भने मात्र प्रचडको राजनीति केही समय जीवित रहन सक्ने देखिन्छ । जे भए पनि प्रचण्ड सम्पूर्ण रूपले ‘एक्स्पोज’ हुन अब धेरै काल प्रतीक्षा गर्नुपर्ने स्थितिचाहिँ रहेन ।

भारत र अमेरिकासँग टाढिएको देखाउँदै नाटकीय ढङ्गले चीनसँग निकट हुन खोजेका प्रचण्डले देशभित्र भिन्न विचार समूहलाई सिध्याउने योजना बनाएको देखिन्छ । अख्तियार, निर्वाचन आयोग र न्यायालयसमेत आफ्नो काबुमा आइसकेको भन्ने विश्वासपछि प्रचण्डले आफ्ना लागि काम गर्ने ‘चाविस्टा’हरूलाई विशेष निर्देशन दिँदै भिन्न विचार समूहमाथि जाइलाग्न खटाएका छन् ।

भारतीय विदेशमन्त्रीमार्फत भाजपा सरकारसँग आफ्नो सुमधुर सम्बन्ध बनाउन गरिएका अनेकौँ प्रयास असफल भएपछि निराश र क्रूद्ध बनेका प्रचण्डले विदेशमन्त्री एस जयशङ्करलाई भेट्न अस्वीकार गरेका थिए । भारतीय विदेशमन्त्रीले उनलाई भेट गर्नका लागि आफू बसेको होटेलमै समय दिएका भए पनि प्रचण्ड प्रोटोकललाई कारण बनाउँदै विदेशमन्त्री जय शङ्करलाई भेट्न होटेलमा गएका थिएनन् । तर, चिनियाँ विदेशमन्त्रीलाई भेट्न भने प्रचण्ड आफैँ होटेलमा पुगेका थिए । यस प्रकरणलाई कूटनीतिक क्षेत्रमा निकै गम्भीरतापूर्वक लिइएको छ । अत्यन्त अपरिपक्व परिघटनाका रूपमा कूटनीतिज्ञहरूले यस प्रकरणलाई लिएका छन् ।

यसरी भारत र अमेरिकासँग टाढिएको देखाउँदै नाटकीय ढङ्गले चीनसँग निकट हुन खोजेका प्रचण्डले देशभित्र भिन्न विचार समूहलाई सिध्याउने योजना बनाएको देखिन्छ । अख्तियार, निर्वाचन आयोग र न्यायालयसमेत आफ्नो काबुमा आइसकेको भन्ने विश्वासपछि प्रचण्डले आफ्ना लागि काम गर्ने ‘चाविस्टा’हरूलाई विशेष निर्देशन दिँदै भिन्न विचार समूहमाथि जाइलाग्न खटाएका छन् । केही दिनअघि मात्र नेपालगञ्जमा काङ्ग्रेसको ‘जागरण’ सभामा सहभागीहरूमाथि हमला भएको थियो । अहिले आलोचनात्मक दृष्टिकोण राख्नेहरूमाथि सङ्गठित आक्रमण गर्न प्रचण्डले निर्देशन दिएका छन् ।

राज्यसत्ता नै हातमा रहेका बेला फरक मत राख्नेहरूविरुद्ध जाइलाग्न ‘युवा’ समूहलाई निर्देशन दिनुले माओको सांस्कृतिक क्रान्तिकालको झल्को दिएको छ । त्यसबेला (१९६६–१९७६) सम्पूर्ण सत्ता आफ्नो हातमा हुँदाहुँदै पनि माओले भिन्न विचार समूहलाई पूरै उन्मूलन गर्ने अभियान चलाएका थिए र त्यसक्रममा विरोधी ठानिएका करोडौँ निर्दोष मानिसको ज्यान गएको थियो । भेनेजुएलामा ह्युगो चाबेजको उत्तराधिकारी बनेका निकोलस मादुरोले पनि सत्ताद्वारा पालितपोषित चाविष्टा नामक गुण्डादस्ता परिचालन गरी जनस्तरमा आतङ्क मच्चाउँदै आएका छन् । अहिले नेपालमा पनि प्रचण्डले त्यस्तै अभ्यासको आभाष दिएका छन् ।

प्रचण्डले हिंसात्मक क्रियाकलाप शुरु गराउनेबित्तिकै यहाँ विदेशीको गतिविधि बढ्नेमा शङ्का गर्नुपर्ने छैन । शान्तिपूर्ण विरोध र आलोचनामा रोक लगाउन गरिएको यस्तो प्रयासले देशमा हिंसात्मक वातावरण बनाउने निश्चित छ । अब फेरि गृहयुद्ध भएमा नेपालले थेग्न नसक्ने र त्यही नाममा विदेशी सेना नेपाल भित्रिने पनि अवश्यम्भावी छ । देशको सार्वभौमिकता विदेशीलाई सुम्पिएर मात्र विश्राम लिने योजनामा प्रचण्ड छैनन् भने आफ्ना ‘चाविस्टा’हरूलाई हिंसात्मक कार्यका निम्ति उक्साउन नहुने आमपर्यवेक्षकको भनाइ छ । तर, सत्तान्ध प्रचण्डबाट देशका पक्षमा केही हुने अपेक्षा राख्नु नै व्यर्थ हुने भएको छ ।