चीन–अमेरिका व्यापार मन्दीको असर जापानलाई

चीन–अमेरिका व्यापार मन्दीको असर जापानलाई


जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्टमा १२ प्रतिशतले घटेको छ । संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार तनाव र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरूले बताएका छन् ।

जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा असर परेको हो । जापानका मेसिनरी, सवारी साधन र केमिकल सबैको निर्यात घटेको छ । गत अगष्ट महिनामा जापानको आयात पनि घटेको पाइएको छ । आयातमा भएको गिरावट विगत तीन वर्षकै सबैभन्दा बढी हो । जापानमै पनि बजारमा सामानको मागमा मन्दी छाएको छ । अमेरिकातर्फको सिपिङ व्यवसाय ४ प्रतिशतले घटेको छ भने चीनतर्फको सिपिङमा १२ प्रतिशतले कमी आएको छ ।

समग्रमा निर्यात र आयातमा ६ प्रतिशतले कमी आएको जापानको भन्सार विभागले जनाएको छ । अगष्ट महिनामा संयुक्त राज्य अमेरिकातर्फ जापानको निकासी ४ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ जब कि निर्यातभन्दा आयात अझ घटेको छ । व्यापारिक तनावबीच आयातभन्दा निर्यात नै बढी भएको भन्दै जापानको अर्थ मन्त्रालयले खुसी व्यक्त गरेको छ । जापानी व्यवसायको पछिल्लो सर्वेक्षणमा सन् २०११ को भूकम्प र सुनामीपछि जापानको अर्थतन्त्रमा यति ठूलो प्रभाव देखिएको यो पहिलोपटक रहेको उल्लेख छ ।

गत महिना जापान र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भए पनि अन्तिम सम्झौता हुन अझै बाँकी छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रको समूह (जी–७) को बैठकका क्रममा दुवै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको थियो ।

अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोसिमिचु मोटेगीले संवाददातासँग वासिंटनमा संक्षिप्त प्रतिक्रिया दिँदै वार्तामा ठूलो प्रगति भएको बताएका थिए । मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच निकै सुमधुर सम्बन्ध रहेको छ, तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन् । उनले दुवै मुलुकबीचको व्यापार सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

लाइटिजर र मोटेगी दुवैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टीपीपी) सम्झौताबमोजिम अरू देशसरह बनाउन सहमति भएको छ । साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुधजन्य वस्तुमा लागिआएको कोटा नराख्ने सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ ।

जापानले यसअघि टीपीपी सम्झौताबमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अरू मुलुकसरहको व्यवहार गर्ने वचन दिँदै आएको छ । पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ । तर, जापानलाई टाउकोदुखाइ भएको जापानी सवारीसाधनमाथि लाग्ने अमेरिकी करहरूबारे भने अद्यापि कुनै सहमति भएको छैन ।

दुबै मुलुकबीच अन्तिम सम्झौता आगामी सेप्टेम्बरको अन्त्यसम्ममा हुने जापानी अखबारहरूले जनाएका छन् । यसैबीच एएफपीका अनुसार जापानको प्रमुख सेयर बजार निक्की २२५ सूचक बुधबार केही घटेको छ । विगत १० दिनदेखि सामान्य वृद्धि हुँदै आएको सेयर बजार बुधबार ०.१८ बिन्दुले घटेर २१ हजार ९६०.७१ मा बन्द भएको छ । टोपिक्स पनि ७.९६ विन्दुले घटेर १ हजार ६०६.६२ मा बन्द भएको छ ।

साउदी अरेबियाको तेल कारखानामा भएको आक्रमणका कारण तेलमा मूल्यवृद्धि भएपछि टोकियो सेयर बजारमा असर परेको अनुमान गरिएको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंकको नीति घोषणाबारे पनि सावधानीपूर्वक प्रतीक्षा गरिरहेका छन् । जानकारहरू केन्द्रीय बैंकले व्याजदर कटौती गर्ने अपेक्षामा छन् । अमेरिकी केन्द्रीय बैंकले मंगलबार नगद अभाव रहेको भन्दै अर्बौं डलर वित्तीय बजारका लागि उपलब्ध गराएको थियो ।