लोकतन्त्रमाथि आइलाग्नेप्रति सरकार बघिनी भएर जाइलाग्नेछ : प्रधानमन्त्री

लोकतन्त्रमाथि आइलाग्नेप्रति सरकार बघिनी भएर जाइलाग्नेछ : प्रधानमन्त्री


दुईतिहाईको सरकारले जनताको अपेक्षाअनुसार सन्तोषजनक काम गर्न नसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् । उनले सरकारका प्रति काम गर्न नसकेको भनेर भइरहेको आलोचना जायज रहेको बताए । प्रधानमन्त्री ओलीले बुधबार बिहान सिंहदरबार परिसरमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेपछि जनचाहनाअनुरूप सरकारको कामले गति लिन नसकेको बताएका हुन् ।

‘कामको गति सुस्त भयो भनेर भइरहेका गुनासा जायज छन् । देशको विकासले गति लिन नसकेको हो । सरकार यी गुनासाप्रति गम्भीर छ,’ प्रधानमन्त्री ओलीले भने, ‘डेढ वर्षको अवधि खासै सन्तोषजनक नरहे पनि अब बाँकी समयमा कामको गति तीव्र हुन्छ । सरकारले गति लिन नसकेको अवस्थालाई चिरेर अघि बढ्छौँ ।’

लोकतन्त्रमाथि विभिन्न कोणबाट खतरा पैदा गर्न खोजिएको बताउँदै त्यस्ता खतरा पन्छाउन सरकार जाइलाग्ने ओलीले बताए । उनले भने, ‘लोकतन्त्रमाथि खतरा निम्त्याउने प्रयास भइरहेका छन् । बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे । सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्नेछ, चुप लागेर बस्दैन ।’

प्रधानमन्त्रीले संसद भवन तोकिएकै समयमा निर्माण सम्पन्न हुने पनि बताए । नयाँ बन्ने उक्त भवनको निर्माण लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

सिंहदरबारमा रहेको पुरानो संसद भवन सानो भएपछि संघीय संसद अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा सञ्चालन भइरहेको छ । जसको भाडा वार्षिक करिब १५ करोड रहेको छ ।

नयाँ बन्ने संसद् परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तिनका हलहरू बन्नेछन् ।