‘धरानवासीले जिताउने नै मलाई हो’

‘धरानवासीले जिताउने नै मलाई हो’


रिक्त नगरप्रमुख पदका निम्ति धरानमा हुन लागेको निर्वाचनमा विभिन्न दलका सम्भावित उम्मेदवारहरूबारे चर्चा शुरु भएको छ । आगामी मङ्सिरमा हुने निर्वाचनका लागि अहिलेसम्म कुनै पनि स्वतन्त्र व्यक्तिले उम्मेदवार बन्ने चासो दर्शाएका छैनन् । नेकपा र नेपाली काङ्ग्रेससम्बद्ध विभिन्न स्थानीय नेताहरूको नाम सम्भावित उम्मेदवारका रूपमा लिन थालिएको छ । यस क्रममा नेपाली काङ्ग्रेसका तर्फबाट अशोक अविरल राईको नाम सर्वाधिक चर्चामा रहेको छ भने नेकपाका किरण राई र मनोज मेयाङ्बोलाई बलिया दाबेदारका रूपमा लिइन्छ । काङ्ग्रेससम्बद्ध विश्वराज भण्डारी र तिलक राईलाई उम्मेदवारीका निम्ति योग्य व्यक्तिका रूपमा नाम लिन थालिएको छ ।
दुई राजनीतिक दलबाट हाल चर्चामा आएकामध्ये काङ्ग्रेसका अशोक अविरल राई समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । उहाँले लामो समय शिक्षा सेवामा बिताउनुभएको थियो । २०३६ सालको आन्दोलनमा सहभागी हुँदै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीतिमा सरिक भएका राईले पटकपटक जेल र हिरासतको यातना भोग्नुपरेको थियो । २०४२ सालको सत्याग्रहदेखि २०४६ र २०६३ सम्म उहाँले आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान भएर पनि अशोक अविरल राईले कहिल्यै पदीय महत्वाकाङ्क्षा दर्शाउनु भएन । उहाँले पहिलोपटक धरानको मेयर बनेर जनसेवा गर्ने आकाङ्क्षा राख्नुभएको छ । घटना र विचारसँगको भेटमा उहाँले भन्नुभयो, ‘इमानदारीका साथ काम गऱ्यो भने धेरै गर्न सकिन्छ भन्ने प्रमाणित गर्नका लागि पनि मैले धरानको नगर प्रमुख बन्ने इच्छा राखेको हुँ । बेइमानी मेरो जीवनको डायरीमा छैन, मेरो इमानदारीले धरानलाई नेपालको अत्याधुनिक शहरमा रूपान्तरण गर्न सक्छ भन्ने विश्वास मलाई छ ।’

० तपाईंलाईं काङ्ग्रेसले टिकट दिन्छ होला त ?
– अहिलेसम्म मैले पार्टीबाट केही पनि नखोजीकन चालीस वर्ष बिताएको हुँ । मेरो योग्यता, क्षमता, सङ्घर्ष र लगानीबारे पार्टी नेतृत्वलाई जानकारी भएकोले मलाई उम्मेदवार बनाउला भन्ने ठानेको छु ।

० काङ्ग्रेसमा त उम्मेदवार बन्न/बनाउन पनि नगदको पोको हेरिन्छ भन्ने भनाइ छ नि !
– खोइ ! मलाई त त्यस्तो लाग्दैन । बीपीको विचार, गणेशमानजीको त्याग र किशुनजीको इमानदारी एवम् निष्ठाको राजनीतिले चलेको पार्टी हो । नगद नै हेरेर उम्मेदवारी बनाइएला जस्तो मलाई लाग्दैन र त्यसरी त उम्मेदवार पनि बनिँदैन । म सेवाका निम्ति राजनीतिमा छु, त्यो इमानदारीपूर्वक गर्नेछु ।

० टिकट पाएमा विजयी बन्नुहोला त ?
– ए, त्यो त ढुक्क भए हुन्छ । धरानवासी जनताले खोजेको नै मै जस्तो व्यक्ति हो । यो मान्छेले इमानदारीसाथ काम गर्छ भन्ने विश्वास धरानवासीलाई छ । त्यसैले उम्मेदवार बनेको अवस्थामा विजयी नबन्ने त कुरै छैन ।

० तपाईं एक्लै होइन, उम्मेदवार त अरू पनि हुन्छन् नि !
– एक्लै लड्ने र विजयी बन्ने चाहना राख्न म मार्कोस होइन र किम जोङ उन पनि होइन । अरू दलका उम्मेदवार जोसुकै बने पनि निर्वाचनमा विजयी बन्ने सामथ्र्य ममा छ र धराने जनतालाई पनि यो कुरा थाहा छ । धरानवासीले जिताउने नै मलाई हो ।